काठमाडौं । समुद्री सतहबाट ४ हजार ७०० मिटरको उचाइमा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका-५, लोवथाङस्थित गल्फ कोर्सलाई गिनिज वर्ल्ड रेकर्डमा दर्ज गराउने तयारी अन्तिम चरणमा पुगेको छ।
विश्वकै उच्च स्थानमा रहेको गल्फ कोर्सका रूपमा दाबी गर्न आवश्यक प्राविधिक विवरण तथा प्रमाण संकलनको काम भइरहेको मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले जानकारी दिएका छन्। विष्टका अनुसार भारतको सिक्किमस्थित याक गल्फ कोर्स समुद्री सतहबाट ३ हजार ९७० मिटर, बोलिभियाको ला पाजस्थित गल्फ कोर्स ३ हजार २६० मिटर तथा चीनका जेड ड्रागन माउन्टेन गल्फ क्लब ३ हजार ३८ मिटर र कुपर क्रिक गल्फ क्लब ३ हजार ६ मिटरको उचाइमा रहेका छन्। लोवथाङको गल्फ कोर्स भने ४ हजार ७०० मिटर उचाइमा रहेको दाबी गरिएको छ।
गिनिज वर्ल्ड रेकर्डका लागि आवश्यक प्रारम्भिक आधार तथा प्रमाण जुटाइसकिएको र अब औपचारिक घोषणा प्रक्रियातर्फ अघि बढ्ने तयारी रहेको विष्टले बताएका छन्। उनका अनुसार विश्वकै अग्लो गल्फ कोर्सको पहिचान स्थापित गर्न सके नेपालमा अन्तर्राष्ट्रिय गल्फर आकर्षित गर्न महत्वपूर्ण उपलब्धि हुनेछ। लोवथाङमा यसअघि चार संस्करणका गल्फ प्रतियोगिता आयोजना भइसकेका छन्। आगामी भदौ १५ गते पाँचौँ संस्करणको प्रतियोगिता आयोजना हुँदैछ। प्रतियोगितामा विदेशी गल्फरलाई समेत सहभागी गराउने विषयमा विभिन्न चरणमा छलफल भइरहेको आयोजकले जनाएको छ।
उच्च हिमाली क्षेत्रमा रहेको यस गल्फ कोर्समा प्रतियोगिताका साथै अभ्यासका लागि समेत गल्फरहरूको चासो बढ्दै गएको विष्टको भनाइ छ। विश्वका चर्चित गल्फरसँग समेत लोवथाङमा खेल तथा अभ्यासका लागि ल्याउने विषयमा छलफल भइरहेको उनले बताए। चिसो हावापानी, प्राकृतिक सौन्दर्य र हिमशृङ्खलाले घेरिएको लोवथाङ गल्फ कोर्सले खेलसँगै पर्यटनको सम्भावनासमेत बोकेको छ। स्थानीय तथा सरोकारवालाले सरकारी निकायबाट पूर्वाधार विकास र अन्य आवश्यक सहयोग भए यस क्षेत्रलाई अन्तर्राष्ट्रिय खेल पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका छन्।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले विश्वभरका खेलाडीलाई आकर्षित गर्ने विषयलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए। खेल पर्यटनमार्फत लोमान्थाङलाई आकर्षक गन्तव्य बनाउने योजनाअनुसार आगामी दिनमा आवश्यक बजेट तथा कार्यक्रममार्फत सहयोग गर्ने उनको भनाइ छ। यस वर्ष आयोजना हुने ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करणको मुख्य नाराका रूपमा ‘टी फर क्लाइमेट’ तय गरिएको छ। हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावबारे विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले प्रतियोगितालाई जलवायु परिवर्तनसँग जोडिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको प्रो गल्फतर्फ नेपालका उत्कृष्ट पाँच खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। प्रथम हुने खेलाडीलाई ‘नेपाल मास्टर’ घोषणा गर्दै ७५ हजार रुपैयाँ नगदसहित मास्टर कोट प्रदान गरिनेछ। दोस्रो हुने खेलाडीले ५० हजार तथा तेस्रोदेखि पाँचौँ स्थानसम्मका खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
एमेच्योरतर्फ १० महिला र ४० पुरुष गरी ५० खेलाडी सहभागी हुने आयोजकले जनाएको छ। लोमान्थाङमा हुने नियमित प्रतियोगिता र गिनिज वर्ल्ड रेकर्डको प्रयासले नेपालमा उच्च हिमाली गल्फ तथा खेल पर्यटनको नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।