काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्दैछ। बैठकमा विभिन्न प्रतिवेदन पेस गर्नुका साथै भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानसँग सम्बन्धित जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची तय गरिएको छ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्नेछिन्। त्यसपछि नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ। प्रस्तावमा वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी उनीहरूको संरक्षण, उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापना र यथाशीघ्र लालपुर्जा वितरणको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।
सुरक्षित आवास, शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा तथा जीविकोपार्जनको सुनिश्चिततालाई समेत प्रस्तावमा समेटिएको छ। उक्त प्रस्तावलाई सांसदहरू ऐनबहादुर महर, युवराज दुलाल र आरेन राईले समर्थन गरेका छन्। यस्तै, आज प्रतिनिधिसभा बैठकसँगै सङ्घीय संसद्का पाँच संसदीय समितिको बैठक पनि बस्दैछ। बिहान १० बजे बस्ने अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयक माथि दफाबार छलफल जारी रहनेछ।
उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धी विषयमा छलफल हुनेछ। बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल विशेष सेवा ऐन, २०४२ को साबिक व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि सैद्धान्तिक तथा दफावार छलफल गर्नेछ। साथै कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदनमाथि पनि विचारविमर्श हुनेछ।
यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पर्यटन विधेयक, २०८१ सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल गर्नेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले समितिका पूर्वसभापति रामनारायण विडारीसँग सरकारी आश्वासन कार्यान्वयनको अवस्थाबारे छलफल गर्ने कार्यसूची तय गरेको छ।