काठमाडौं । ऐतिहासिक नाटक ‘वीर गणेशमान’ यही भदौ १४ गतेदेखि काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ। नाटक असोज १४ गतेसम्म नियमित रूपमा प्रदर्शन गरिनेछ।
गणेशमान फाउन्डेसनको आयोजना तथा सर्वनामको प्रस्तुतिमा मञ्चन हुन लागेको नाटकको परिकल्पना, नाट्य रूपान्तरण तथा निर्देशन वरिष्ठ रंगकर्मी अशेष मल्लले गरेका छन्। नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व गणेशमान सिंहको जीवन, संघर्ष, त्याग, साहस र राजनीतिक निष्ठामा आधारित नाटकले उनको संघर्षपूर्ण राजनीतिक यात्रालाई रंगमञ्चमार्फत प्रस्तुत गर्नेछ।
नाटकमा गणेशमान सिंहले राणा शासनविरुद्ध गरेको संघर्ष, भद्रगोल जेलमा बिताएको समय तथा करिब ६ फिट अग्लो जेलको पर्खाल नाघेर गरेको साहसिक पलायनलाई मुख्य घटनाका रूपमा समेटिएको छ। त्यस्तै, २०४६ सालको जनआन्दोलनपछि आएको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका गणेशमान सिंहले प्रधानमन्त्री पदसमेत अस्वीकार गरेको ऐतिहासिक प्रसंगलाई पनि नाटकमा प्रस्तुत गरिनेछ।
निर्देशक अशेष मल्लका अनुसार ‘वीर गणेशमान’ केवल एउटा राजनीतिक व्यक्तित्वको जीवनीमा आधारित नाटक मात्र होइन, निष्ठा, इमानदारी, त्याग र देशप्रतिको समर्पणको कथा पनि हो। व्यक्तिगत स्वार्थ, पद र सत्ताभन्दा देश र जनताको अधिकार तथा स्वतन्त्रतालाई प्राथमिकता दिने गणेशमान सिंहको राजनीतिक दर्शनलाई नाटकमार्फत नयाँ पुस्तासम्म पुर्याउने प्रयास गरिएको मल्लले बताए।
करिब पाँच दशक लामो आफ्नो नाट्य यात्रामा यथार्थपरक शैलीको यस्तो नाटक पहिलोपटक निर्देशन गर्न लागेको पनि मल्लले बताएका छन्। वि.सं. २०३८ सालमा स्थापना भएको सर्वनामले नेपाली रंगमञ्चको विकासमा लामो समयदेखि योगदान दिँदै आएको छ। ‘वीर गणेशमान’मार्फत गणेशमान सिंहको योगदान र संघर्षलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्य राखिएको निर्माण पक्षले जनाएको छ। नाटक भदौ १४ देखि असोज १४ गतेसम्म सर्वनाम थिएटर, कालिकास्थानमा मञ्चन हुनेछ।