काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) तीन महिनादेखि उपकुलपतिविहीन हुँदा विश्वविद्यालयका महत्त्वपूर्ण प्रशासनिक तथा शैक्षिक निर्णय प्रभावित भएका छन्। नयाँ उपकुलपति नियुक्तिमा ढिलाइ भएपछि शिक्षक-कर्मचारीको बढुवा, डिन नियुक्ति, विद्यार्थी भर्ना विस्तार तथा पूर्वाधार निर्माणलगायतका काम रोकिएका छन्।
तत्कालीन उपकुलपति अच्युत वाग्ले पदमुक्त भएपछि परीक्षा नियन्त्रक ऋषिकेश वाग्लेले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका छन्। उनका अनुसार दैनिक प्रशासनिक काम सञ्चालन भइरहे पनि दीर्घकालीन प्रभाव पार्ने नयाँ योजना र नीतिगत निर्णय भने रोकिएका छन्।
उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित समितिले आवेदन दिएका ३५ जनाको दरखास्त स्वीकृत गरिसकेको छ। अब तीमध्ये १० जनाको संक्षिप्त सूची सार्वजनिक गरी अन्तिम तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरिनेछ, जहाँबाट एक जनालाई उपकुलपतिमा नियुक्त गरिने प्रक्रिया अघि बढ्नेछ।
विश्वविद्यालयका अनुसार हाल डिनहरू पनि निमित्तकै भरमा छन्। नयाँ उपकुलपति नियुक्त भएपछि मात्रै डिन नियुक्ति गर्ने तयारी गरिएको छ। नेतृत्व अभावका कारण करिब १५ जना शिक्षक र ८० जना कर्मचारीको बढुवा रोकिएको छ। लिखित परीक्षा र अन्तर्वार्ता सम्पन्न भइसके पनि अन्तिम निर्णय हुन सकेको छैन।
त्यस्तै, यस वर्ष विद्यार्थी संख्या ३० प्रतिशतले वृद्धि गर्ने योजना, नयाँ कक्षाकोठा तथा प्रयोगशाला निर्माण, शुल्क समायोजनलगायतका विषय पनि प्रभावित भएका छन्। विज्ञान र इन्जिनियरिङ संकायमा आवश्यक पूर्वाधार निर्माण प्रक्रिया समेत नेतृत्व अभावकै कारण अघि बढ्न सकेको छैन। केयू प्राध्यापक संघले सरकारले विद्यार्थीको नतिजा ४५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिने तर ९० दिनभन्दा बढी समयसम्म विश्वविद्यालयलाई स्थायी नेतृत्व दिन नसक्नु विडम्बनापूर्ण भएको टिप्पणी गरेको छ।
शिक्षा मन्त्रालयका अनुसार सोमबार १० जनाको संक्षिप्त सूची सार्वजनिक गरिनेछ र त्यसपछि प्रक्रिया पूरा गरी
एक साताभित्र नयाँ उपकुलपति नियुक्त गर्ने तयारी गरिएको छ।