काठमाडौं । सर्वोच्च अदालतले आज पनि संवैधानिक इजलास गठनसम्बन्धी विवादको निरूपण गर्न सकेन। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा रहन मिल्ने कि नमिल्ने भन्ने विषयमा परेका दुईवटा रिटको सुनुवाइ न्यायाधीश प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा भए पनि एमिकस क्युरी नआएकाले निरुपण हुन नसकेको हो ।
यससम्बन्धी रिटमा दुई साताअघि नै सर्वोच्च अदालतले नेपाल बार र सर्वोच्च बारसँग २÷२ जना एमिकस क्युरी मगाएको थियो। तर हालसम्म उनीहरुको नामावली नै सर्वोच्चमा नआइपुगेको हो। आजको सुनुवाइमा नामावली आएपछि जतिसक्दो चाँडो पेसी चढाउन न्यायाधीशद्वयको इजलासले आदेश गरेको छ। संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति बदरको माग गर्दै परेको रिटको सुनुवाइ गर्ने संवैधानिक इजलासमा प्रधानन्यायाधीश पनि रहेपछि विवाद भएको थियो । प्रधानन्यायाधीश राणा संवैधानिक परिषद्मा पनि हुने भएकाले उनीविरुद्ध परेको रिटको सुनुवाइमा आफैँ बस्न नमिल्ने रिट निवेदकको माग छ।
संवैधानिक इजलासमा यो मुद्दा चलिरहँदा एकल इजलासले प्रधानन्यायाधीशविनाको इजलासमा रिटको सुनुवाइ रोक्ने आदेश दिएपछि मुद्दाको सुनुवाइ हुनसकेको छैन। यसअघि एकल इजलासले सर्वोच्चसँग लिखित जवाफ समेत माग गरेको थियो। सर्वोच्चले लिखित जवाफ पनि बुझाइसकेको छ।