काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि नेपाली चलचित्र क्षेत्रका कलाकारहरू पनि सक्रिय हुन थालेका छन्। अभिनेत्री प्रियना आचार्य र रजनी केसीले फिल्मको प्रचारभन्दा मानवीय सेवालाई प्राथमिकता दिँदै राहत तथा स्वास्थ्य सेवामा सक्रियता देखाएका छन्।
अभिनेत्री प्रियना आचार्यले व्यक्तिगत पहलमा पाँच गाडी राहत सामग्री संकलन गरी नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पठाएकी छन्। बाढीपीडितका लागि आवश्यक खाद्यान्नलगायत अत्यावश्यक सामग्री जुटाएर प्रभावित क्षेत्रमा पठाइएको उनले बताएकी छन्। फिल्मको प्रचारप्रसारको समय भए पनि अहिले आफ्नो ध्यान पूर्ण रूपमा राहत अभियानमा केन्द्रित गरेको प्रियना बताउँछिन्।
उनका अनुसार, विपत्तिका कारण ठूलो संख्यामा मानिसहरू घरबारविहीन तथा समस्यामा परेका बेला फिल्मको प्रचारभन्दा पीडितलाई तत्काल आवश्यक पर्ने राहत उपलब्ध गराउनु महत्वपूर्ण छ। उता, अभिनेत्री रजनी केसीले नुवाकोटको विदुर नगरपालिका–टारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकी छन्। चिकित्सकसहितको टोली लिएर आफ्नो जन्मजिल्ला पुगेकी रजनीले बाढी प्रभावित तथा स्थानीय नागरिकको स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक औषधिसमेत वितरण गरेकी छन्।
उक्त स्वास्थ्य शिविरबाट करिब २५० जनाले सेवा लिएको बताइएको छ। बाढीपछि स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै शिविरमार्फत प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराइएको हो। स्वास्थ्य शिविरसँगै रजनीले बाढीपीडितलाई खाद्यान्न, लत्ताकपडा तथा सरसफाइका सामग्री वितरण गरेकी छन्। बालबालिकाका लागि शैक्षिक तथा खेलकुद सामग्रीसमेत उपलब्ध गराइएको छ।
बाढीका कारण आफ्नै थुप्रै आफन्त गुमाएकी रजनी विपत्तिको सुरुवातदेखि नै उद्धार तथा राहत अभियानमा सक्रिय रहँदै आएकी छन्। उनले यो विपत्ति कुनै एउटा क्षेत्र वा समुदायको मात्र नभएको भन्दै सबैलाई सक्दो सहयोग गर्न अपिल गरेकी छन्। रजनीले बाढीबाट प्रभावित नागरिकको पीडा देशकै साझा पीडा भएको बताउँदै सहयोगका लागि सबैसँग आग्रह गरेकी हुन्। कलाकारहरूले आफ्नो व्यावसायिक गतिविधिभन्दा मानवीय सेवालाई प्राथमिकता दिएर थालेको यो अभियानले विपत्तिको समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कलाकारको भूमिकालाई समेत उजागर गरेको छ।
यसबीच प्रियना आचार्य अभिनीत चलचित्र ‘कार्की साइँला’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। त्यस्तै, रजनी केसी अभिनीत ‘छ माया छपक्कै २’ दसैंको अवसरमा प्रदर्शन गर्ने तयारी गरिएको छ। तर, चलचित्र प्रदर्शनको प्रचारप्रसारभन्दा तत्काल राहत र उद्धारलाई प्राथमिकता दिँदै दुवै अभिनेत्री प्रभावित नागरिकको सहयोगमा जुटेका छन्।