काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सार्ने प्रस्ताव गरेको छ । हिजो साँझ बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले मंसिर ७ देखि १३ गतेका लागि तोकिएको महाधिवेशन गर्न नभ्याउने बताएका छन् ।
हिजो बैठक सुरु गरेर पार्टी सभापति शेरबहादुर देउवा हिडेका थिए । देउवा हिँडेपछि उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा भएको छलफलमा खड्काले पुसमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए ।
क्रियाशील सदस्यता सार्वजनिक नभएकै कारण १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । २१ वटा हिमाली जिल्लामा दशैं अगाडि नै जिल्ला अधिवेशन गर्ने सहमति जुटेको छ । कांग्रेसले हिमाली जिल्ला ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, गोरखासहित २१ जिल्लामा दसैं अगाडि नै अधिवेशन गर्ने भएको हो ।
तर डोल्पा र रसुवामा भने क्रियाशील सदस्यताकै टुंगो लागेको छैन । ती जिल्ला बाँकी राखेर अन्य जिल्लाको दसैँअघि नै र अरु जिल्लामा दसैँपछि जिल्ला अधिवेशन गर्ने सहमति भएको छ । हिमाली बाहेकका जिल्लामा दसैँअघि स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने र बाँकी अधिवेशनका कार्यक्रम दसैँपछि गर्ने सहमति भएको छ ।