काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ पाँच दलीय गठबन्धनको केन्द्र देखि स्थानीय तहसम्म समन्वय संयन्त्र बनाएर अगाडी बढ्ने बताएका छन् । अध्यक्ष नेपालले बिहीवार पार्टी केन्द्रीय कमिटी बैठकको समापनलाई सम्बोधन गर्दै सत्तारुढ पाँच दलीय गठबन्धनको बिचमा सम्बन्ध सुमधुर रहेको बताएका हुन् ।
उनले बाहिर हल्ला भएजस्तो गठबन्धन टुट्ने, फुट्ने र सरकार ढल्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । अध्यक्ष नेपालले गठबन्धनकाबिचमा केन्द्रदेखि स्थानीय तहसम्म समन्वय संयन्त्र बनाएर अगाडी बढ्ने तयारी भइरहेको जानकारी दिए। गठबन्धनलाई आगामी चुनावभन्दा पछिसम्म निरन्तरता दिइने उनले उल्लेख गरेका छन् । 'सरकारमा सहभागी दलहरुका नेताहरुबीच निकै राम्रो सुमधुर सम्बन्ध छ', उनले भने, 'बाहिर हल्ला फैलाउन खोजे पनि यो गठबन्धन न टुट्छ, न फुट्छ, यो सरकार ढल्छ भन्ने कुरामा कुनै सत्यता छैन।' उनले छिट्टै सरकारले पूर्णता पाउने पनि बताएका छन् ।
'एउटा संरचना केन्द्रमा बन्नेछ। दस्तावेज पास गर्नेछ। यसको नामाकरण पनि गर्नेछ', उनले भने, 'त्यसको प्रदेश, जिल्ला र पालिकामा पाँचै दलबीचमा समन्वय संयन्त्र बनाउनेछौँ। सहकार्य पनि गर्दै जानेछौँ। आगामी चुनावमा हामी, चनुावसम्म र चुनावपछि गठबन्धनलाई निरन्तरता दिन्छौँ।' अध्यक्ष नेपालले यो गठबन्धनको मुल आधार राष्ट्रियता, लोकतन्त्र र समाजवादको दिशामा अगाडी बढ्ने नीति रहेको उल्लेख गरे।
उनले आफ्नो पार्टी कसैसँग मिसिनुपर्ने आवश्यकता नभएको पनि स्पष्ट पारेका छन्। पार्टीको जग बलियो भएको र कार्यकर्ताहरुको व्यापक समर्थन भएका कारण संगठन फैलिदै गएको पनि उनले बताए।