काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको योजना रहेको बताएका छन्।बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा देउवाले कोरोना महामारीको खतरनाक रूप नेपालमा आएको तर यसबारे अझै कतिपय मानिसलाई जानकारी नभएको भन्दै गुनासो गरे ।
'मैले भ्याक्सिन भ्याक्सिन भनेको थिएँ । नेपालभर छिटै नै भ्याक्सिनको व्यवस्था पूरा हुँदैछ । वैशाखसम्म सबैलाई भ्याक्सिन लगाइसकिने हाम्रो योजना छ,' देउवाले भने, 'अहिले कोभिड पनि खतरनाक रूप नेपालमा आएको छ । धेरै मान्छेहरू मरेका छन् । कतिपयलाई कति खतरनाक छ भन्ने कुरो ज्ञान पनि छैन । यसलाई कम गर्न हामी अवश्य नै काम गर्नेछौँ ।' नेपालको पत्रकारिता जगतलाई सुरक्षित गर्दै थप विकसित, व्यवसायिक र समृद्ध बनाउन सरकार तयार रहेको उनले बताए । सम्पूर्ण सञ्चारमाध्यमहरू खोजमुलक र सत्यतथ्यमा आधारित भएर स्वतन्त्र रहनुपर्ने सरकारको चाहना रहेको उनको भनाइ थियो ।
संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता, विचार स्वतन्त्रतालाई संरक्षण गर्दै नेपालको पत्रकारिता जगतलाई थप विकसित, व्यवसायिक र समृद्ध बनाउने कार्यमा आवश्यक सहयोग गर्न सरकार तयार रहेको उनको भनाइ थियो । 'समावेशी लोकतन्त्रको पक्षधर भएको नाताले राज्यका सञ्चारमाध्यमहरू पनि सम्पादकीय स्वतन्त्रतको सुनिश्चितता गर्दै स्वतन्त्र रूपमा सञ्चालन हुन् भन्ने वर्तमान सरकारको चाहना छ,' देउवाले भने ।
नेपाल टेलिभिजन सरकारको भएकोले सरकारको मात्रै गुणगान गाउँछ भन्ने कतिपयलाई लागेको भन्दै देउवाले त्यो हट्नुपर्ने बताए । सरकारको टेलिभिजन भए पनि सबैलाई निष्पक्ष रूपले हेर्नुपर्ने उनको भनाइ थियो । २०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनाको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्किने क्रममा तत्कालीन वन तथा भू संरक्षणमन्त्री गोपाल राईसहित २४ जनाको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।
सोही दुर्घटनामा नेपाल टेलिभिजनका पत्रकारद्वय हेम र सुनिलको पनि निधन भएको थियो । त्यसयता हरेक वर्ष नेपाल टेलिभिजनले आजकै दिन हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ । यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका कपिलवस्तु जिल्ला संवाददाता वासुदेव बर्माले पाएका छन् ।