काठमाडौं । नेपाली फिल्म उद्योगमा नयाँ स्वाद पस्किने दाबी गरिएको फिल्म ‘टनेल २६’ यही शुक्रबार अर्थात् २३ असोजदेखि प्रदर्शनमा आउँदैछ ।
नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको यो फिल्म जोम्बी कथामा आधारित छ । फिल्मको सम्पूर्ण छायांकन भुटानमा गरिएको हो भने अधिकांश कलाकार पनि भुटानी नै छन् । नेपालबाट भने अनुप विक्रम शाही र आना शर्माले फिल्ममा मुख्य भूमिकामा अभिनय गरेका छन् ।
फिल्मको प्रचारका क्रममा भुटानमा रहेका अभिनेता अनुप विक्रम शाहीले ‘टनेल २६’ले दर्शकलाई बिल्कुलै फरक कथा दिने दाबी गरेका छन् । उनका अनुसार नेपाली फिल्म उद्योगमा पहिलोपटक जोम्बी विधामा फिल्म निर्माण गर्ने प्रयास गरिएको हो ।
सस्पेन्स र थ्रिलर रुचाउने दर्शकका लागि फिल्म विशेष हुने अनुपको विश्वास छ । फिल्म भुटानमा छायांकन गरिए पनि यसलाई केवल भुटानी फिल्मका रूपमा बुझ्न नहुने अनुपको भनाइ छ । नेपालमा फिल्म नेपाली भाषामै प्रदर्शन हुने भएकाले ‘टनेल २६’लाई नेपाली फिल्मकै रूपमा लिनुपर्ने उनको तर्क छ ।
नेपाल र भुटानबीचको सहकार्यले दुई देशबीचको सांस्कृतिक तथा कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउन पनि फिल्मले भूमिका खेल्ने उनको विश्वास छ । फिल्मको छायांकनका क्रममा आफूले निकै फरक अनुभव गरेको अनुपले बताएका छन् ।
करिब ४० दिनसम्म एउटै पोसाकमा फिल्मको छायांकन गरिएको उनको भनाइ छ । फिल्मको कथा नै टनेलभित्र केन्द्रित भएकाले कलाकारहरूले करिब एक सातासम्म टनेलभित्रै थुनिएको अवस्थालाई पर्दामा उतारेका छन् ।
त्यसैले फिल्मभरि एउटै पोसाक प्रयोग गरिएको अनुपले बताएका छन् । भुटानमा ४० दिनसम्म फिल्मको छायांकन गर्दा आफूलाई आफ्नै देशमा काम गरिरहेको जस्तो अनुभव भएको पनि उनले सुनाए ।
डीडी किन्लेले लेखन तथा निर्देशन गरेको ‘टनेल २६’मा अनुप विक्रम शाही र आना शर्मासहित सांगे सेल्ट्रिम, रोशिनी दादा, निदुप दोर्जी, फुन्त्सोक धोन्डेन, डेकी लामो, जामयाङ तेन्पा, फुन्त्सो, किनराब, चेन्चो लामा, केजाङ काजलगायतका कलाकारको अभिनय छ ।
अभिनेता प्रदीप खड्का फिल्ममा विशेष भूमिकामा देखिँदैछन् । उनी फिल्मका क्रिएटिभ प्रोड्युसरसमेत हुन् ।
जोम्बी, सस्पेन्स र थ्रिलरको मिश्रणमा तयार पारिएको ‘टनेल २६’ले नेपाली दर्शकलाई कत्तिको नयाँ अनुभव दिन्छ, त्यो भने फिल्म प्रदर्शनपछि नै स्पष्ट हुनेछ ।