काठमाडौं । अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रूपमा बिदाइ लिएका छन् ।
२१ वर्ष लामो अन्तर्राष्ट्रिय यात्राको अन्तिम खेलमा मेसीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि ३-० को सहज जित दिलाए । जितसँगै अर्जेन्टिनाले आफ्ना महान् कप्तानलाई भावुक रूपमा बिदाइ गरेको छ । ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजारभन्दा बढी दर्शकको उपस्थितिबीच ३९ वर्षीय मेसीले अर्जेन्टिनाका लागि आफ्नो २०८औँ तथा अन्तिम अन्तर्राष्ट्रिय खेल खेले ।
मेसीको बिदाइलाई अर्जेन्टिनामा ‘द लास्ट ट्याङ्गो’ नाम दिइएको थियो । खेलअघि नै मेसी भावुक देखिएका थिए । समर्थकहरूले भरिएको सडकबाट अर्जेन्टिनी टोलीको बस अघि बढ्दा उनी पटक-पटक आँसु पुछिरहेका देखिए ।
मैदान प्रवेश गर्दा मेसी आफ्ना तीन सन्तानसँगै थिए । पत्नी एन्टोनेला रोकुज्जो र आमा सेलिया कुक्चिटिनीले भीआईपी बक्सबाट उनलाई हात हल्लाउँदै बिदाइ गरे । खेल सुरु हुनुअघि मैदानमा मेसीको चर्चित १० नम्बरको जर्सीसहित ‘धन्यवाद’ लेखिएको विशाल अर्जेन्टिनी जर्सी प्रदर्शन गरिएको थियो । त्यसपछि हजारौँ समर्थकले मेसीको सम्मानमा नाराबाजी गर्दै स्टेडियम गुञ्जाए ।
राष्ट्रिय गानका क्रममा पनि मेसी भावुक बने । फकल्यान्ड युद्धका पूर्वसैनिक फाबियो सान्तानाले राष्ट्रिय गान गाइरहँदा स्टेडियममा भावुक वातावरण बनेको थियो । खेलमा भने मेसीले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेललाई पनि अविस्मरणीय बनाए ।
भेट्रान डिफेन्डर निकोलस ओटामेन्डीले अर्जेन्टिनालाई अग्रता दिलाउँदा गोलको अवसर सिर्जना गर्ने काम मेसीले गरेका थिए । त्यसपछि निको पाजले दोस्रो गोल गरे । ७१औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै मेसीले अर्जेन्टिनाका लागि आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १२६ पुर्याए ।
अन्तिम खेलमा एक गोल र दुई असिस्टसहित मैदानबाट बाहिरिँदा मेसीले आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्तिम अध्याय पनि आफ्नो शैलीमै पूरा गरे । खेल सकिएपछि स्टेडियममाथिको आकाशमा ड्रोन शो आयोजना गरियो । ड्रोनमार्फत मेसीको आकृति बनाउँदै अर्जेन्टिनाले आफ्नो महान् कप्तानको अतुलनीय योगदानप्रति सम्मान व्यक्त गर्यो ।
मेसीको अन्तर्राष्ट्रिय यात्रा भने केवल गोल र कीर्तिमानमा सीमित छैन । लामो समयसम्म अर्जेन्टिनालाई ठूला उपाधि दिलाउन नसकेको आलोचना खेपेका मेसीले अन्ततः २०२१ मा कोपा अमेरिका जिताए ।
त्यसपछि २०२२ मा कतार विश्वकप जिताउँदै अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप उपाधि दिलाए । २०२४ मा फेरि कोपा अमेरिका जितेपछि मेसी अर्जेन्टिनाको फुटबल इतिहासकै सबैभन्दा सफल र प्रभावशाली खेलाडीका रूपमा स्थापित भए ।
अन्तर्राष्ट्रिय करियरमा मेसीले विश्वकप, कोपा अमेरिका र व्यक्तिगत रूपमा आठपटक बालोन डी’ओरसहित विश्व फुटबलका लगभग सबै ठूला सम्मान आफ्नो नाममा पारेका छन् । तर, अन्तिम बिदाइको क्षणमा मेसीको सन्देश भने सरल थियो-‘मैले आफ्नो सबै दिएँ । अब दिनका लागि मसँग केही बाँकी छैन ।’
अन्तिम खेलअघि आयोजित एक समारोहमा ब्युनस आयर्स विश्वविद्यालयले मेसीलाई मानार्थ डक्टरेट उपाधिसमेत प्रदान गरेको थियो । समर्थकहरूले एएफए मुख्यालयबाहिर ‘द जोय अफ माइ लाइफ’ अर्थात् ‘मेरो जीवनको खुसी’ लेखिएको विशाल अर्जेन्टिनी झण्डासहित मेसीप्रति सम्मान व्यक्त गरेका थिए ।
अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिए पनि मेसीको व्यावसायिक यात्रा भने तत्काल समाप्त हुने छैन । उनी अमेरिकी क्लब इन्टर मियामीसँग २०२८ सम्मको सम्झौतामा छन् । तर, अन्तर्राष्ट्रिय फुटबलमा भने अब अर्जेन्टिनाको १० नम्बर जर्सीमा मेसी देखिने छैनन् ।
२१ वर्ष, २०८ खेल, १२६ गोल, विश्वकपको गौरव, दुई कोपा अमेरिका उपाधि र असंख्य अविस्मरणीय क्षणपछि-लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट आफ्नो यात्रा अन्त्य गरेका छन् । फुटबलको एउटा युग मैदानबाट बिदा भएको छ ।