काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारका गतिविधिले देश स्वेच्छाचारीतातर्फ जाने गम्भीर खतरा पैदा भएको आरोप लगाएका छन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रचण्डले देश, लोकतन्त्र र संविधान नै अप्ठेरो अवस्थामा पुगेको दाबी गरेका हुन् । उनले सरकारका पछिल्ला अभिव्यक्ति, क्रियाकलाप र गतिविधिप्रति प्रश्न उठाउँदै मुलुक स्वेच्छाचारीतातर्फ जाने खतरा देखिएको बताए ।
‘देश अप्ठेरोमा छ । लोकतन्त्र नै अप्ठेरोमा छ । संविधान पनि अप्ठेरोमा छ । अहिलेका सरकारका कयौँ अभिव्यक्ति, क्रियाकलाप र गतिविधिले स्वेच्छाचारीतातिर देश जाने हो कि भन्ने गम्भीर खतरा पैदा भएको छ,’ प्रचण्डले भने ।
प्रचण्डले वर्तमान राजनीतिक व्यवस्थालाई थप सुदृढ बनाउन दलहरूबीच सहकार्य आवश्यक रहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र समावेशी लोकतन्त्रको आधारमा निर्माण भएको र यो शान्ति सम्झौताको समेत महत्वपूर्ण अंग रहेको उनको भनाइ थियो ।
उनले संविधान र राजनीतिक प्रक्रियाका केही विषय अझै टुंगिन बाँकी रहेको भन्दै ती विषयलाई समयमै सम्बोधन गर्न नसके मुलुक थप अप्ठेरो अवस्थामा पुग्न सक्ने चेतावनी दिए ।
‘हामीले अहिले जो समावेशी लोकतन्त्रसहितको संघीय लोकतान्त्रिक गणतन्त्र छ, त्यो शान्ति सम्झौताको अंगको रूपमा पनि छ,’ उनले भने, ‘अझै केही चिज टुंग्याउन बाँकी छ । त्यो टुंग्याइएन भने देश अझै अप्ठेरो अवस्थामा जान सक्छ ।’
प्रचण्डले लोकतान्त्रिक गणतन्त्रको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरूबीच सहकार्य र समझदारी आवश्यक रहेकोमा जोड दिएका छन् ।