काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ। काठमाडौंको राष्ट्रिय सभागृहमा निर्वाचन समितिले मनोनयन दर्ताको प्रक्रिया अघि बढाइरहँदा पदाधिकारी पदमा उम्मेदवारी दिने नेताहरूको संख्या बढ्दै गएको छ।
विशेषगरी उपसभापति, महामन्त्री र सहमहामन्त्रीका विभिन्न पदमा नेताहरूले धमाधम उम्मेदवारी दर्ता गराइरहेका छन्। महाधिवेशनमा नेतृत्वका लागि आकांक्षी नेताहरूले आफ्नो दाबी प्रस्तुत गर्दै उम्मेदवारी दर्ता गराएसँगै कांग्रेसको नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।
हालसम्म सभापति पदमा श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका छन्। सभापतिका लागि उम्मेदवारी घोषणा गरेका वर्तमान सभापति गगनकुमार थापा र किशोरसिंह राठौरले भने अहिलेसम्म मनोनयन दर्ता गराएका छैनन्।
वरिष्ठ उपसभापति पदमा भने विश्वप्रकाश शर्माको अहिलेसम्म एकल उम्मेदवारी परेको छ। शर्माले वारेसमार्फत आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। उपसभापति पदमा खुलातर्फ डा। चन्द्रमोहन यादव, सुरेन्द्रराज पाण्डे, डा। मीनेन्द्र रिजाल, गोविन्द भट्टराई, देवराज चालिसे र मधुप्रसाद आचार्यले उम्मेदवारी दर्ता गराएका छन्।
समावेशी उपसभापतिमा विनोद चौधरी, फरमुल्लाह मन्सुर र जीवन परियार मैदानमा उत्रिएका छन्। महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी परेको छ। महामन्त्री पदमा पनि उल्लेख्य प्रतिस्पर्धा देखिएको छ। महिला महामन्त्रीमा डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय ‘डिना’ले उम्मेदवारी दिएका छन्।
त्यस्तै खुला महामन्त्री पदमा शंकर तिवारी, सुनिल शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, गुरुराज घिमिरे र अमरसिंह पुनले उम्मेदवारी दर्ता गराएका छन्। सहमहामन्त्रीका विभिन्न समावेशी समूहमा पनि उम्मेदवारी दर्ता हुने क्रम जारी छ। महिलातर्फ प्रतिमा गौतमको उम्मेदवारी परेको छ भने खुलातर्फ देवेन्द्रराज कँडेल र रामहरि खतिवडाले उम्मेदवारी दिएका छन्।
पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही र मीन भामले उम्मेदवारी दर्ता गराएका छन्। खसआर्यतर्फ मनोजमणि आचार्य, अजयबाबु शिवाकोटी र जगदिश्वरनरसिंह केसी प्रतिस्पर्धामा छन्। आदिवासी जनजातितर्फ बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन्। थारुबाट तेजुलाल चौधरी, अल्पसंख्यकतर्फ आङगेलु शेर्पा, मुस्लिमतर्फ अब्दुल सत्तर र मधेशीतर्फ अभिषेकप्रताप शाहले उम्मेदवारी दर्ता गराएका छन्।
मनोनयन दर्ताको समय सकिन बाँकी रहेकाले पदाधिकारीमा उम्मेदवारी दिने नेताहरूको संख्या अझै बढ्न सक्ने देखिएको छ। विशेषगरी सभापति पदमा गगनकुमार थापा र किशोरसिंह राठौरको उम्मेदवारी दर्तापछि कांग्रेसको नेतृत्व प्रतिस्पर्धाको तस्वीर थप स्पष्ट हुने अपेक्षा गरिएको छ।
यससँगै १५औँ महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा को स्थापित हुन्छ भन्ने चासो बढेको छ भने पदाधिकारीका विभिन्न पदमा देखिएको प्रतिस्पर्धाले नयाँ कार्यसमिति चयन प्रक्रिया थप रोचक बनेको छ।