काठमाडौं । दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै मधेश प्रदेश प्रहरीले आठवटै जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ ।
चाडपर्वका क्रममा हुनसक्ने चोरी, लुटपाट, तस्करी, सडक दुर्घटना, भीडजन्य घटना तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रदेशभर ७ हजार २२९ प्रहरी परिचालन गर्ने तयारी गरिएको हो । मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार असोज २९ गतेदेखि कात्तिक ३० गतेसम्म विशेष सुरक्षा योजना लागू हुनेछ ।
सुरक्षा परिचालनतर्फ सबैभन्दा बढी प्रहरी धनुषामा खटाइनेछ । धनुषामा १ हजार ५९९, बारामा ८७०, रौतहटमा ८६३, सप्तरीमा ८५७, सर्लाहीमा ७९२, महोत्तरीमा ७४७, पर्सामा ६६१ र सिरहामा ६५१ प्रहरी परिचालन हुनेछन् । चाडपर्वका क्रममा विभिन्न १ हजार १२४ ड्युटीअन्तर्गत ५ हजार ४८१ प्रहरी परिचालन गरिनेछ ।
यसअन्तर्गत ९२ वटा क्विक रेस्पोन्स टिम अर्थात् क्यूआरटी, १८ स्ट्राइकिङ टोली, ८७ ट्राफिकसहितको चेकिङ टोली, ८६ मोबाइल गस्ती र १८० पैदल गस्ती परिचालन हुनेछन् । त्यसैगरी शंकास्पद स्थानमा निगरानीका लागि ३३९ पिकेट, राजमार्गमा २९ वटा स्कर्टिङ ड्युटी तथा यात्रु सहायता कक्षका लागि ६४ ड्युटी तोकिएको छ ।
भारतसँग जोडिएका सीमा नाकामा पनि सुरक्षा निगरानी बढाइनेछ । चाडपर्वका समयमा नेपाल-भारत सीमा क्षेत्रमा मानिसको आवतजावत बढ्ने भएकाले चोरी-तस्करी तथा अवैध सामान ओसारपसार नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेको छ ।
सीमा नाकामा ७३ ड्युटी परिचालन गर्नुका साथै २८ वटा हेल्प डेस्कसमेत सञ्चालन गरिनेछ । धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षाका लागि ३७, बजार अनुगमनका लागि २१ तथा कर्डन र सर्चका लागि १८ ड्युटी परिचालन गरिनेछ ।
त्यस्तै सभा, जुलुस तथा धर्नाका क्रममा आकस्मिक सुरक्षा व्यवस्थापनका लागि १६ टोली र विपद् प्रतिकार्यका लागि २२ टोली तयारी अवस्थामा राखिनेछ । प्रहरीले चाडपर्वका क्रममा हुनसक्ने सम्भावित जोखिमलाई पनि पहिचान गरेको छ ।
दसैंमा घर फर्किने तथा तिहारपछि बढ्ने यात्रु आवतजावतका कारण सडक दुर्घटना र ट्राफिक जामको जोखिम रहेको प्रहरीको आकलन छ । छठ पर्वका क्रममा नदी, पोखरी तथा घाटमा हुने भीडका कारण डुब्ने तथा भीडजन्य दुर्घटना हुनसक्ने भएकाले त्यस्ता क्षेत्रमा विशेष निगरानी गरिनेछ ।
त्यसैगरी पटका तथा आतिसबाजीबाट हुनसक्ने आगलागी, जुवा-तास तथा अवैध सट्टेबाजी, मदिरा सेवनबाट हुने झैझगडा, घरेलु हिंसा, पाकेटमारी, चोरी तथा लुटपाट नियन्त्रणमा पनि प्रहरी केन्द्रित हुनेछ । सुनचाँदी पसल, बैंक तथा नगद कारोबार हुने स्थानमा चोरी तथा डकैती रोक्न विशेष निगरानी गरिनेछ ।
देउसी-भैलो, सांस्कृतिक कार्यक्रम तथा डिजेका कारण रात्रीकालीन शान्ति-सुरक्षामा चुनौती आउनसक्ने भएकाले त्यस्ता गतिविधिमाथि पनि निगरानी बढाइनेछ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा, अवैध मदिरा तथा लागुऔषधको ओसारपसार, कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रणलाई पनि सुरक्षा योजनामा समेटिएको छ ।
सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाएर सामाजिक तनाव सिर्जना गर्ने गतिविधि तथा आगलागी, विद्युत् सर्टलगायतका आकस्मिक विपद्लाई समेत प्रहरीले सम्भावित चुनौतीका रूपमा लिएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार अतिरिक्त जनशक्तिलाई कमान्ड पोस्ट, संयुक्त गस्ती, सादा पोसाकमा सूचना संकलन तथा आकस्मिक ड्युटीमा परिचालन गरिनेछ ।