काठमाडौं । ‘लाहुरेको सहर’का रूपमा परिचित धरान पछिल्लो समय साइक्लिङको गन्तव्यका रूपमा समेत विकास हुँदै गएको छ । धरानका सडकदेखि आसपासका डाँडाकाँडा, ग्रामीण क्षेत्र र पर्यटकीय गन्तव्यसम्म साइकल चलाउने युवाको संख्या बढ्दै गएको छ ।
साइकल अब धराने युवाका लागि केवल आवतजावत वा मनोरञ्जनको साधनमा सीमित छैन । खेलकुद, साहसिक यात्रा, स्वास्थ्य, पर्यटन र आयआर्जनसँग जोडिँदै साइक्लिङ नयाँ जीवनशैलीका रूपमा विस्तार भइरहेको छ । धरान-११ का १८ वर्षीय दीपसागर तामाङ यसको उदाहरण हुनुहुन्छ । सामान्य साइकलबाट यात्रा सुरु गर्नुभएका तामाङ अहिले माउन्टेन बाइकिङका प्रतिस्पर्धात्मक खेलाडी बन्नुभएको छ । उहाँ जुनियर नेसनल च्याम्पियनसमेत भइसक्नुभएको छ ।
साथीहरूले साइकल चलाएको देखेर सुरु भएको उहाँको यात्रा अहिले नेपालका विभिन्न भूगोल हुँदै भारतको आसामसम्म पुगेको छ । पोखरा, काठमाडौं, ओखलढुङ्गा, गाईघाटलगायतका स्थानमा साइक्लिङ कार्यक्रम तथा यात्रामा सहभागी भइसक्नुभएका तामाङले कञ्चनजङ्घा आधार शिविरसम्म समेत साइकल यात्रा गर्नुभएको छ ।
गत वर्ष ताप्लेजुङमा आयोजित ‘सिरिजङ्घा पर्यटन महोत्सव-२०८२’ अन्तर्गत तामाङसहित चार जनाको टोलीले कञ्चनजङ्घा आधार शिविरसम्म साइकल यात्रा गरेको थियो । कठिन भौगोलिक अवस्था र अप्ठ्यारो बाटोका कारण कतिपय स्थानमा साइकल बोकेरै अघि बढ्नुपरे पनि तीन दिनको कठिन यात्रापछि टोली आधार शिविर पुगेको थियो ।
तामाङले अन्नपूर्ण सर्किटमा आयोजना हुने अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस ‘याक अट्याक’मा समेत सहभागिता जनाइसक्नुभएको छ । बेँसीसहरबाट मनाङ हुँदै मुस्ताङको तातोपानीसम्म हुने सातदिने उक्त रेसमा उहाँले दोस्रो स्थान हासिल गर्दै ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको थियो ।
त्यस्तै, २०औँ राष्ट्रिय एमटीबी क्रस कन्ट्री तथा १२औँ डाउनहिल च्याम्पियनसिपमा जुनियरतर्फ दुवै विधामा प्रथम स्थान हासिल गर्नुभएको छ । धरानमा भने साइक्लिङको उद्देश्य सबैका लागि एउटै छैन । कसैले यसलाई खेलकुदका रूपमा अघि बढाएका छन् भने कतिपय युवाले स्वास्थ्य, मनोरञ्जन र दैनिक जीवनशैलीसँग जोडेर साइकल चलाइरहेका छन् ।
धरान-१२ का अमित श्रेष्ठका लागि साइक्लिङ स्वास्थ्य र मानसिक ताजगीको माध्यम बनेको छ । बढ्दो सवारी चाप, अस्तव्यस्त सडक र प्रदूषणका बीच आफूलाई सक्रिय र स्वस्थ राख्न साइकल चलाउन सुरु गरेको उहाँ बताउनुहुन्छ । धरानको उकालो-ओरालो भूगोल र प्राकृतिक वातावरण साइक्लिङका लागि उपयुक्त रहेको साइक्लिस्टहरूको भनाइ छ । साइकल यात्रामार्फत नयाँ ठाउँ, प्रकृति, इतिहास र स्थानीय जीवनशैलीलाई नजिकबाट बुझ्न सकिने भएकाले यसले पर्यटन प्रवद्र्धनमा समेत योगदान पुर्याइरहेको छ ।
मोरङको केराबारीका २४ वर्षीय अनिस तामाङको साइकल यात्रा भने फरक परिस्थितिबाट सुरु भएको हो । पढाइ छाडेपछि पत्रिका वितरण गर्ने क्रममा साइकल चलाउने अवसर पाउनुभएका उहाँले त्यसैलाई रुचिमा परिणत गर्नुभयो । पछि आफ्नै साइकल किनेपछि साथीहरूसँग विभिन्न स्थानको यात्रा सुरु गर्नुभयो ।
धरानबाट सिक्किम हुँदै दिल्लीसम्म साइकल यात्रा गर्नुभएका तामाङले एक दिनमा एक सयदेखि दुई सय किलोमिटरसम्म साइकलमा यात्रा गरेको अनुभव सुनाउनुभएको छ । दिल्ली पुग्न उहाँलाई १९ दिन लागेको थियो । धरान-१० का विजय श्रेष्ठ पनि विगत १५ वर्षदेखि साइक्लिङमा सक्रिय हुनुहुन्छ । धरानबाट भेडेटार, चिन्डे डाँडा, चतरा र बराहक्षेत्रलगायतका रुटमा उहाँ नियमित रूपमा साथीहरूसँग साइक्लिङ गर्नुहुन्छ । भारतको दार्जिलिङ र सिक्किमसँगै नेपालका विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यमा समेत उहाँ साइकलमार्फत पुगिसक्नुभएको छ ।
उहाँका अनुसार साइक्लिङलाई मुख्यतः रेस र इभेन्ट गरी दुई रूपमा हेर्न सकिन्छ । रेस प्रतिस्पर्धात्मक हुन्छ भने इभेन्टमार्फत नयाँ ठाउँ घुम्ने, नयाँ मानिससँग चिनजान गर्ने र मनोरञ्जन गर्ने अवसर मिल्छ । पछिल्लो समय धरानमा साइक्लिङ पर्यटन र रोजगारीसँग समेत जोडिन थालेको छ । धरान आउने विदेशी पर्यटकलाई स्थानीय साइक्लिस्टले साइकलमार्फत विभिन्न गन्तव्यमा घुमाउँदै गाइडको कामसमेत गर्न थालेका छन् ।
धरान-११ का दीपक जिमी पनि अहिले साइकल गाइडका रूपमा काम गर्दै आउनुभएको छ । सानै उमेरदेखि साइक्लिङ प्रतियोगितामा सहभागी हुँदै आउनुभएका जिमीले विदेशी पर्यटकलाई विभिन्न रमणीय स्थानमा साइकलमार्फत घुमाएर आयआर्जनसमेत गरिरहनुभएको छ ।
साइक्लिङलाई व्यवस्थित र प्रवद्र्धन गर्न धरानमा विभिन्न कार्यक्रमसमेत हुँदै आएका छन् । पेड्लर्स धरानको आयोजनामा हरेक वर्ष हुने ‘कोरा राइड’ साइक्लिङ च्यालेन्जमा विभिन्न स्थानबाट तीन सयभन्दा बढी साइक्लिस्ट सहभागी हुने गरेका छन् ।
सन् २०१७ देखि धरानमा सुरु भएको कोरा राइड च्यालेन्जलाई २०२४ देखि पेड्लर्स धरानमार्फत थप व्यवस्थित रूपमा सञ्चालन गर्न थालिएको हो । बालबालिकादेखि विभिन्न उमेर समूहका व्यक्तिको सहभागिता रहने यस कार्यक्रमले साइक्लिङप्रति आकर्षण बढाउन सहयोग गरेको आयोजकको भनाइ छ ।
तर धरानमा साइक्लिङको आकर्षण बढ्दै गए पनि सुरक्षित पूर्वाधारको भने अभाव छ । साइक्लिस्टका लागि छुट्टै साइकल लेन नहुँदा सडकमा जोखिम मोलेरै साइकल चलाउनुपर्ने अवस्था छ । साइक्लिङलाई स्वास्थ्य र मनोरञ्जनसँगै पर्यटन तथा आयआर्जनको माध्यमका रूपमा विकास गर्न सुरक्षित साइकल लेन र आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने साइक्लिस्टहरूको माग छ ।
धरान बजारदेखि भेडेटार, निडे डाँडा, कार्कीछाप, पानवारी, दानाबारी र सेउतीलगायतका क्षेत्रमा साइक्लिङका विभिन्न रुट विकास गर्न सकिने सम्भावना छ ।
प्राकृतिक तथा भौगोलिक विविधताले भरिएको धरानमा आवश्यक पूर्वाधार विस्तार गर्न सके साइक्लिङलाई केवल युवाको सोखमा सीमित नराखी स्वास्थ्य, खेलकुद, पर्यटन र रोजगारीसँग जोडिएको दिगो क्षेत्रका रूपमा विकास गर्न सकिने देखिन्छ ।