काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै हुने भन्दै अन्योलमा नपर्न आग्रह गरेका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइतबार बसेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले प्रतियोगिता कुनै पनि हालतमा नसर्ने दाबी गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन गर्ने तयारी छ ।
मन्त्री पोखरेलले प्रतियोगिता हुने वा नहुने विषयमा कुनै दुविधा नराख्न आग्रह गर्दै प्रतियोगिताको तयारीसँगै यसको उत्सवसमेत सुरु भइसकेको बताए । ‘दशौँ राष्ट्रिय खेलकुद हुने हो कि होइन भनेर कसैले पनि दुविधा नमान्नुहोला। दशौँ राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भयो, त्यसैले प्रतियोगिता मात्रै मंसिर १६ गतेबाट हो,’ उनले भने ।
विगतभन्दा व्यवस्थित प्रतियोगिता हुने दाबी
मन्त्री पोखरेलले यसपटकको राष्ट्रिय खेलकुद प्रतियोगिता विगतका संस्करणभन्दा थप प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरे । प्रतियोगिता सफल बनाउन संघ, प्रदेश र स्थानीय तहसहित सम्पूर्ण सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उनले बताए ।
उनले तीनै तहका सरकार र सम्बन्धित सबै पक्षले आ-आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गरे प्रतियोगिता सफल बनाउन सहज हुने धारणा राखे । बैठकमा आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, व्यवस्थापन तथा आवश्यक पूर्वाधारलगायत विषयमा छलफल भएको थियो ।