काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। पाँच दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुँदैछ।
महाधिवेशनका लागि देशभरबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि काठमाडौं आइपुगेका छन्। केही प्रतिनिधि आउने क्रम भने अझै जारी रहेको कांग्रेसले जनाएको छ। प्रतिनिधिहरूको बसोबासका लागि राजधानीका विभिन्न होटलमा व्यवस्था मिलाइएको छ।
असोज १८ गतेदेखि सुरु हुने महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन गर्ने कार्यतालिका छ। त्यसक्रममा पार्टीका राजनीतिक तथा नीतिगत दस्तावेजमाथि छलफल हुनेछ।
सभापति गगनकुमार थापाले राजनीतिक तथा नीतिगत दस्तावेज प्रस्तुत गर्ने कार्यक्रम छ। त्यस्तै उपसभापति, महामन्त्री र कोषाध्यक्षले पनि आ-आफ्ना प्रतिवेदन प्रस्तुत गर्नेछन्। महाधिवेशनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको नयाँ नेतृत्व चयन हो। असोज १९ गते उम्मेदवारी मनोनयनको कार्यक्रम राखिएको छ भने असोज २१ र २२ गते निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने कांग्रेसको तयारी छ।
मतदानका लागि खुलामञ्चसँगै राष्ट्रिय सभागृह र नेपाल प्रज्ञा-प्रतिष्ठानमा पनि व्यवस्था मिलाउने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ।
कांग्रेसको महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई समेत निमन्त्रणा गरिएको छ। उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायत सहभागी हुने अपेक्षा गरिएको छ।
त्यस्तै भारत, चीन, अमेरिका लगायत विभिन्न देशका राजनीतिक दल तथा संस्थाका प्रतिनिधिलाई पनि कांग्रेसले निमन्त्रणा गरेको छ। सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपाल आइसकेकी छन्। अन्य विदेशी दल तथा संस्थाबाट पनि प्रतिनिधि तथा शुभकामना सन्देश प्राप्त भएको कांग्रेसले जनाएको छ।
महाधिवेशनलाई व्यवस्थित बनाउन खुलामञ्चमा मुख्य मञ्चसहित बन्दसत्रका लागि तीनवटा हल तयार पारिएका छन्। सञ्चारकर्मीका लागि मिडिया सेन्टर, प्रतिनिधि तथा पाहुनाका लागि स्वास्थ्य सेवाको व्यवस्था र खानाका लागि भृकुटीमण्डपमा भोजन व्यवस्थापन गरिएको छ। यसपटक कांग्रेसले महाधिवेशनको नारा ‘परम्पराको सम्मान र परिवर्तनको संकल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ तय गरेको छ।
महाधिवेशनले कांग्रेसको आगामी राजनीतिक दिशा र नेतृत्व मात्रै तय गर्ने छैन, बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसले आफूलाई कसरी पुनर्संरचना गर्छ भन्ने विषयमा समेत चासोका साथ हेरिएको छ।