काठमाडौं । रुसले युक्रेनको सूमी सहरस्थित भारतीय व्यवसायी राजीव गुप्ताको औषधि उत्पादन कारखानामा ड्रोन हमला गरेको छ। हमलामा एकजनाको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार रुसी ड्रोन हमलाबाट कुसुम ग्रुपको कारखानाको मुख्य भवनमा ठूलो क्षति पुगेको छ। भवनको अधिकांश भाग ध्वस्त भएको र प्रारम्भिक अनुमानअनुसार कम्पनीलाई करिब ४०० करोड भारतीय रुपैयाँ अर्थात् अर्बौँ रुपैयाँ बराबरको क्षति पुगेको बताइएको छ।
हमलापछि कारखाना रहेको क्षेत्रमा ठूलो धुवाँको मुस्लो देखिएको थियो। स्थानीय अधिकारीहरूले मृतक तथा घाइतेको संख्या अझै बढ्न सक्ने बताएका छन्। सूमीस्थित उक्त कारखाना रुसी सीमाबाट करिब २३ किलोमिटरको दूरीमा रहेको बताइएको छ।
सन् ९० को दशकमा युक्रेन पुगेका थिए गुप्ता
हमलामा परेको कारखाना भारतीय मूलको कुसुम ग्रुपको हो। कम्पनीका सञ्चालक राजीव गुप्ता सन् १९९० को दशकमा युक्रेन पुगेका थिए। उनले युक्रेनबाटै आफ्नो औषधि व्यवसाय विस्तार गरेका हुन्।
कुसुम ग्रुपले सन् १९९४ मा भारतबाट युक्रेनमा औषधि निर्यात गर्ने वितरकका रूपमा व्यवसाय सुरु गरेको थियो। त्यसको दुई वर्षपछि अर्थात् सन् १९९६ मा युक्रेनमा औपचारिक रूपमा कम्पनी स्थापना गरिएको थियो। कम्पनीको मुख्यालय राजधानी किभमा रहेको छ।
सन् २००९ मा सूमीमा औषधि उत्पादन कारखाना सञ्चालनमा ल्याइएको थियो। उक्त कारखानाबाट ट्याब्लेट, क्याप्सुल तथा तरल औषधिसहित ५० भन्दा बढी जेनेरिक औषधिका ब्रान्ड उत्पादन हुँदै आएका थिए।
कम्पनीका उत्पादन युक्रेनबाहेक उज्बेकिस्तान, कजाकिस्तान, फिलिपिन्सलगायत नौभन्दा बढी देशमा बिक्री हुँदै आएका छन्।
युद्धबीच पनि सञ्चालनमा थियो कारखाना
रुस-युक्रेन युद्ध सुरु भएपछि पनि सूमीस्थित कुसुम ग्रुपको औषधि कारखाना सञ्चालनमा थियो। तर पछिल्लो ड्रोन हमलापछि कारखानाको उत्पादन तथा सञ्चालनमा गम्भीर प्रभाव परेको छ।
रुसले पछिल्लो समय युक्रेनका विभिन्न क्षेत्रमा ठूलो संख्यामा ड्रोन प्रयोग गर्दै आएको छ। युक्रेनी पक्षले रुसी ड्रोन आक्रमण रोक्न कठिनाइ भइरहेको बताउँदै आएको छ।
यसैबीच, अक्टोबर ३ मा रुसले युक्रेनका विभिन्न क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको जनाइएको छ। आक्रमणबाट राजधानी किभको नर्दन पुलसहित विभिन्न क्षेत्रमा भौतिक क्षति पुगेको बताइएको छ।
जर्मन चान्सलर फ्रेडरिक मर्ज किभ भ्रमणमा रहेकै समयमा भएको रुसी आक्रमणबाट किभ, खार्किभलगायत क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।