काठमाडौं । संघीय संसद्मा हाल ३६ वटा विधेयक विचाराधीन रहेका बेला सरकारले थप १४ वटा विधेयक संसद्मा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार विभिन्न मन्त्रालयले अघि बढाएका १४ वटा विधेयकको आवश्यक प्रक्रिया पूरा गरी छिट्टै संसद्मा दर्ता गर्ने तयारी भइरहेको हो ।
संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार पछिल्ला दुई अधिवेशनबाट पारित भएका १२ वटा विधेयक दुवै सदनबाट पारित भइसकेका छन् । तीमध्ये ११ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् भने एउटा प्रमाणीकरणको प्रक्रियामा छ ।
२४ विधेयक संसदीय समितिमा
संघीय संसद्मा अहिले विचाराधीन ३६ विधेयकमध्ये २४ वटा विधेयक सम्बन्धित संसदीय समितिमा दफावार छलफलको क्रममा छन् । एउटा विधेयक राष्ट्रिय सभामा रहेको छ भने बाँकी विधेयक प्रतिनिधिसभामै विचाराधीन अवस्थामा छन् ।
सरकारले नयाँ विधेयक ल्याउने तयारीसँगै संसद्मा रहेका विधेयकको अवस्थासमेत ट्र्याक गरिरहेको कानुन मन्त्रालयले जनाएको छ ।
अख्तियार र कम्पनी ऐन संशोधनदेखि पाँच संहितासम्म
सरकारले संसद्मा दर्ता गर्ने तयारी गरेका विधेयकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक र राष्ट्रिय सतर्कता केन्द्रसँग सम्बन्धित ऐन संशोधन विधेयक छन् ।
त्यस्तै कम्पनी ऐन संशोधन विधेयक तथा विभिन्न पाँचवटा संहिता संशोधन विधेयक पनि संसद्मा लैजाने तयारी भइरहेको छ । औद्योगिक सम्पत्तिसम्बन्धी विधेयकलाई समेत छिट्टै संसद्मा दर्ता गर्ने गरी प्रक्रिया अघि बढाइएको छ ।
सार्वजनिक ऋणदेखि नवीकरणीय ऊर्जासम्म
अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन र विदेशी विनिमयसँग सम्बन्धित विधेयक अघि बढाएको छ ।
ऊर्जा मन्त्रालयले नवीकरणीय ऊर्जासम्बन्धी विधेयक तथा जलस्रोतसँग सम्बन्धित ऐन संशोधन विधेयक अघि बढाइरहेको छ । त्यस्तै पूर्वाधार न्यायाधीकरण र कृषिसँग सम्बन्धित विधेयक पनि संसद्मा दर्ताको तयारीमा छन् ।
पशु बधशालासँग सम्बन्धित विधेयकसमेत छिट्टै संसद्मा दर्ता गर्ने गरी प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
कुन विधेयक कुन चरणमा पुगेको छ भन्ने विषयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सम्बन्धित मन्त्रालयसँग समन्वय गरी निरन्तर ट्र्याक गरिरहेको छ । सरकारले विधेयक निर्माण तथा दर्ताको प्रक्रिया तीव्र बनाउँदै थप १४ वटा विधेयक छिट्टै संसद्मा पेश गर्ने तयारी गरेको हो ।