काठमाडौं । फ्लाई दुबईको विमान अपहरण गरी इजरायलको तेल अभिवमा दुर्घटना गराउने योजना बनाएको आरोपमा पक्राउ परेका सह-पाइलटबारे थप विवरण सार्वजनिक भएको छ ।
अमेरिकी तथा इजरायली सञ्चारमाध्यमका अनुसार, दुबईबाट तेल अभिवतर्फ उडेको विमानका सह-पाइलटले बोइङ ७३७ म्याक्स विमानलाई बेन गुरियन विमानस्थल वा तेल अभिवका कुनै अग्लो भवनमा ठोक्काउने योजना बनाएका थिए ।
गत बुधबार भएको घटनामा सह-पाइलटले ककपिटमा राखिएको आपतकालीन दुर्घटना-बन्चरो प्रयोग गरी क्याप्टेनमाथि आक्रमण गरेको बताइएको छ । आक्रमणबाट क्याप्टेन घाइते भएपछि यात्रुहरूले हस्तक्षेप गरी सह(पाइलटलाई नियन्त्रणमा लिएका थिए ।
विमान साउदी अरबमा सुरक्षित अवतरण
घटनापछि चालक दलका अर्का सदस्यले विमानको नियन्त्रण सम्हाल्दै साउदी अरबमा विमान अवतरण गराउन सफल भएको बताइएको छ ।
विमानमा १८० भन्दा बढी यात्रु सवार रहेको र घटनाका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको अधिकारीहरूले बताएका छन् ।
इजरायली प्रधानमन्त्रीले सह-पाइलट इस्लामिक कट्टरपन्थी विचारधाराबाट प्रेरित रहेको दाबी गरेका छन् । उनले क्याप्टेन, यात्रु तथा चालक दलका अन्य सदस्यको प्रयासका कारण ‘९/११ जस्तो विपत्ति’ टरेको बताएका छन् ।
एक्लै योजना बनाएको आशंका
विभिन्न रिपोर्टका अनुसार सह-पाइलट ओमानका नागरिक हुन् र उनले कुनै कट्टरपन्थी संगठन वा विदेशी सरकारको निर्देशनमा नभई एक्लै योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
अनुसन्धानकर्ताहरूसँगको बयानमा उनले क्याप्टेनमाथि आक्रमण गरेपछि विमानलाई सामान्य रूपमा इजरायली हवाई क्षेत्रमा लैजाने र बेन गुरियन विमानस्थलमा अवतरणको अनुमति लिने योजना बनाएको बताएका थिए ।
त्यसपछि विमानलाई विमानस्थल वा तेल अभिवको मध्य क्षेत्रमा रहेको कुनै अग्लो भवनमा ठोक्काउने योजना रहेको अनुसन्धानमा खुलेको बताइएको छ ।
यसअघि पनि विमान अपहरणको योजना ?
सह-पाइलटले यसअघि तेल अभिवका लागि हुने अर्को उडानलाई समेत अपहरण गरी दुर्घटना गराउने योजना बनाएको अनुसन्धानकर्ताहरूलाई बताएका थिए ।
तर उक्त विमानमा आफूले चिनेको व्यक्ति सवार रहेकाले अन्तिम समयमा आफ्नो योजना परिवर्तन गरेको उनको बयान उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।
घटनापछि सह(पाइलट संयुक्त अरब इमिरेट्समै हिरासतमा छन् र उनीसँग थप अनुसन्धान भइरहेको छ । इजरायली प्रतिनिधिलाई समेत घटनाबारे जानकारी गराइएको बताइएको छ ।
युएईका महान्यायाधिवक्ता हमाद अल-शम्सीले अनुसन्धानले घटनाको सम्पूर्ण परिस्थिति, उद्देश्य र सम्भावित सम्बन्धबारे छानबिन गर्ने बताएका छन् । अनुसन्धान पूरा भएपछि त्यसको निष्कर्ष सार्वजनिक गरिने उनको भनाइ छ ।