काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता पाँचौँ पटक तोकिएको मितिमा हुनेमा पनि आशंका कायमै छ। यसअघि चार पटक मिति तोकिएर पनि प्रतियोगिता स्थगित भइसकेको छ। सरकारले अब आगामी मंसिर १६ देखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने नयाँ मिति तय गरेको छ।
तर प्रतियोगिताको विस्तृत खेल तालिका अझै सार्वजनिक हुन सकेको छैन। पूर्वाधार, बजेट व्यवस्थापन, प्रशासनिक तयारी र आवश्यक खरिद प्रक्रिया समयमै पूरा नहुँदा विगतमा प्रतियोगिता पटक-पटक सरेको थियो। पछिल्लो समय आएको बाढीपहिरो तथा कर्णालीका हिमाली क्षेत्रमा हुन सक्ने हिमपातले समेत नयाँ मितिमा चुनौती थपिन सक्ने देखिएको छ।
आइतबार सुर्खेतको वीरेन्द्रनगरमा बसेको मूल आयोजक समितिको बैठकले भने निर्धारित मितिमै प्रतियोगिता हुनेमा ढुक्क हुन आग्रह गरेको छ। कर्णालीका डोल्पाबाहेक नौ जिल्लामा २४ खेल सञ्चालन गर्ने तयारी गरिएको छ।
कर्णालीले २०७९ कात्तिकमा पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदबाट १०औँ प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पाएको थियो। त्यसयता २०८१ मंसिर, २०८१ चैत, २०८२ जेठ र २०८२ फागुनमा प्रतियोगिता गर्ने मिति तोकिए पनि पूर्वाधार, बजेट, कानुनी प्रक्रिया, मौसम तथा तयारी अभावका कारण सबै मिति स्थगित भएका थिए।
मुख्य आयोजनास्थल कर्णाली प्रदेश रंगशाला निर्माण सम्पन्न हुने चरणमा पुगे पनि अन्य आवश्यक तयारी अझै बाँकी रहेको बताइएको छ। अब पाँचौँ पटक तोकिएको मिति कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वयसँगै बाँकी तयारी तीव्र बनाउनुपर्ने देखिएको छ।