काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको बहुप्रतीक्षित एक्सन फिल्म ‘किङ’मा अभिनेत्री करिना कपूर पनि देखिने भएकी छन्। फिल्ममा करिनाले शाहरुख खानसँग एक विशेष गीतमा नृत्य गर्ने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतीय सञ्चारमाध्यम पिंकभिल्लाका अनुसार फिल्मका लागि तयार भइरहेको उक्त गीतको नाम ‘ड्याडी कुल’ राखिएको छ। गीतको छायांकन दक्षिण अफ्रिकामा गर्ने तयारी भइरहेको छ भने करिनाले गीतका लागि करिब पाँच दिन समय छुट्याएको बताइएको छ।
गीतमा शाहरुख र करिनालाई यसअघि दर्शकले नदेखेको नयाँ शैलीमा प्रस्तुत गर्ने तयारी भइरहेको जनाइएको छ। गीतमा भारतीय कलाकारसँगै अन्तर्राष्ट्रिय कलाकारको समेत सहभागिता रहने बताइएको छ। यद्यपि अन्तर्राष्ट्रिय कलाकार तथा गायकको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
‘ड्याडी कुल’ गीतमा सचिन-जिगरको संगीत रहने बताइएको छ। करिनाको सहभागिता निश्चित भएमा शाहरुख र करिनाको करिब १५ वर्षपछि पर्दामा पुनर्मिलन हुनेछ। यी दुई कलाकार अन्तिमपटक सन् २०११ मा प्रदर्शन भएको फिल्म ‘रा।वन’मा सँगै देखिएका थिए। त्यसपछि लामो समयपछि ‘किङ’मार्फत उनीहरूलाई फेरि एउटै पर्दामा देख्न पाइने भएपछि दर्शकमाझ पनि चासो बढेको छ।
सिद्धार्थ आनन्दको निर्देशनमा तयार भइरहेको ‘किङ’मा शाहरुख खानसँगै उनकी छोरी सुहाना खान, दीपिका पादुकोण, अभिषेक बच्चन र अनिल कपुरलगायत कलाकारको अभिनय रहेको छ। फिल्म आगामी डिसेम्बर २४, २०२६ अर्थात् पुस ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
निर्माताहरूले शाहरुख खानको जन्मदिनको अवसर पारेर नोभेम्बर २ आसपास ‘किङ’सँग सम्बन्धित सामग्री सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ। त्यससँगै फिल्मको गीत, कलाकार र कथावस्तुसँग सम्बन्धित थप विवरणसमेत सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ।