काठमाडौं । २०७९ सालमा प्रदर्शन भएर सफल बनेको फिल्म ‘झिँगेदाउ’को सिक्वेल ‘झिँगेदाउ २’को टिजर सार्वजनिक भएको पाँच दिनमै सामाजिक सञ्जालमा भाइरल बनेको छ। विशेषगरी अभिनेत्री केकी अधिकारी र आँचल शर्माबीचको देउरानी-जेठानीको झगडाले दर्शकको ध्यान तानेको छ।
निर्माण पक्षका अनुसार टिजरले युट्युबमा मात्र पाँच दिनभित्र १० लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ भने ६ सयभन्दा बढी प्रतिक्रिया आएका छन्। फेसबुक र टिकटकमा समेत टिजरका दृश्य व्यापक रूपमा फैलिँदा यी दुई प्लेटफर्ममा मात्रै १ करोडभन्दा बढी पटक हेरिएको दाबी गरिएको छ।
टिजरमा घरायसी द्वन्द्व, हास्य र भावनात्मक पक्षलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। विशेषगरी रुखमाथि केकी अधिकारी र आँचल शर्माबीचको झगडाको दृश्य सामाजिक सञ्जालमा निकै चर्चामा छ। फिल्ममा उनीहरू देउरानी-जेठानीको भूमिकामा देखिएका छन्।
ज्ञानेन्द्र देउजाको निर्देशन रहेको ‘झिँगेदाउ २’मा केकी अधिकारी, आँचल शर्मा, आर्यन सिग्देल, महेश त्रिपाठी, सरोज खनाल, कुशल विष्ट, हिउँवाला गौतम, बसुन्धरा भुषाल, चैत्यदेवी, संगम भण्डारी, अयभराज बराल, अंशु महर्जन, विजय देउजा र उत्तम केसीलगायत कलाकारको अभिनय रहेको छ।
सुलभ प्रतिक देउजा र समीक्षा देउजाको संयुक्त निर्माण रहेको फिल्म कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको प्रस्तुति हो। विष्णु घिमिरे ९कल्पित०को छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मको पटकथा तथा संवाद परिच्छेद सेनले लेखेका हुन् भने कथा गोविन्द फुयाल र शिशिर चालिसेको हो। फिल्म असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।