एजेन्सी । इरान र युक्रेन युद्धका कारण अमेरिकाको लामो दूरीका सटीक प्रहार गर्ने क्षेप्यास्त्र (प्रिसिजन स्ट्राइक मिसाइल) को भण्डार उल्लेख्य रूपमा घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ। रिपोर्टअनुसार इरानसँगको युद्धका क्रममा अमेरिकाले आफ्ना अधिकांश आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (ATACMS) र प्रिसिजन स्ट्राइक मिसाइल (PrSM) प्रयोग गरिसकेको छ।
रोयटर्सले उद्धृत गरेका स्रोतहरूका अनुसार अमेरिकी सेनासँग यस्ता क्षेप्यास्त्र कति बाँकी छन् भन्ने आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। तर पछिल्ला युद्धहरूका कारण अमेरिकी रणनीतिक हतियारको मौज्दातमा तीव्र दबाब परेको बताइएको छ। गत साता सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडीज (CSIS) ले सार्वजनिक गरेको विश्लेषणअनुसार अमेरिकासँग ८२७ भन्दा कम पेट्रियट मिसाइल र २७८ भन्दा कम थाड (THAAD) ब्यालिस्टिक मिसाइल इन्टरसेप्टर बाँकी रहेको अनुमान गरिएको छ।
रिपोर्टका अनुसार यो अवस्था केवल इरानसँगको युद्धका कारण मात्र नभई सन् २०२२ देखि जारी युक्रेन युद्धसँग पनि जोडिएको छ। अमेरिकाले युक्रेनलाई ठूलो परिमाणमा पेट्रियट मिसाइल, एटीएसीएमएस लगायतका आधुनिक हतियार उपलब्ध गराउँदै आएको छ, जसले आफ्नै सैन्य भण्डारमा दबाब सिर्जना गरेको विश्लेषण गरिएको छ। यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रक्षामन्त्री पिट हेगसेथ तथा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले भने देशमा महत्त्वपूर्ण युद्ध सामग्रीको अभाव रहेको दाबीलाई पटक-पटक अस्वीकार गर्दै आएका छन्।
यता, अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले भने घट्दो भण्डार पुनः भर्न ठूला खरिद प्रक्रिया अघि बढाएको छ। हालै पेन्टागनको बजेटमा १८.२ अर्ब अमेरिकी डलर थप माग गरिएको छ भने यसै वर्ष आरटीएक्स कम्पनीसँग ४४ करोड १० लाख डलर बराबरको पीएसी-२ पेट्रियट मिसाइल खरिद सम्झौता गरिएको छ। त्यसैगरी, फोर्ड, जनरल मोटर्स (जीएम) र ओसकोसजस्ता नागरिक उद्योगहरूलाई समेत रक्षा उत्पादनमा सहभागी गराउने सम्भावनाबारे पेन्टागनले छलफल अघि बढाएको जनाइएको छ।
गत महिना वाशिङटन पोस्टसँग कुरा गर्दै एक अमेरिकी अधिकारीले पश्चिम एसियामा सैन्य अभियानलाई निरन्तरता दिन पर्याप्त युद्ध सामग्री नरहेको संकेत दिएका थिए। उनका अनुसार आधुनिक क्षेप्यास्त्र उत्पादन गर्न वर्षौं समय लाग्ने भएकाले तत्काल भण्डार पुनःस्थापित गर्नु चुनौतीपूर्ण बनेको छ।