काठमाडौं । विश्वकै सबैभन्दा ठूलो पुरस्कार राशिको ईस्पोर्ट्स विश्वकपमा नेपालबाट फ्री फायरतर्फ डीआरएस (The Real Soldiers) गेमिङ र पब्जी मोबाइलतर्फ होरा ईस्पोर्ट्सले प्रतिस्पर्धा गरिरहेका छन्। विश्वव्यापी ईस्पोर्ट्स उद्योगको आम्दानी यस वर्ष २ अर्ब अमेरिकी डलर नाघ्ने अनुमान भइरहेका बेला ७ करोड ५० लाख अमेरिकी डलर (करिब ११ अर्ब नेपाली रुपैयाँ) पुरस्कार राशिको प्रतियोगिता हाल फ्रान्सको पेरिसमा सञ्चालन भइरहेको छ।
सुरुमा साउदी अरबको रियादमा आयोजना गर्ने तयारी गरिएको प्रतियोगिता पश्चिम एसियामा बढ्दो तनावका कारण पेरिस सारिएको हो। सात सातासम्म चल्ने प्रतियोगितामा १०० भन्दा बढी देशका २ सयभन्दा बढी क्लब र २ हजारभन्दा बढी खेलाडीले २४ खेलका २५ विधामा प्रतिस्पर्धा गरिरहेका छन्।
फ्री फायर विधामा क्षेत्रीय छनोट पार गर्दै विश्वकपमा स्थान बनाएको डीआरएस गेमिङ विश्वकपमा प्रतिस्पर्धा गर्ने नेपालको पहिलो टोली बनेको छ। २४ टोली सहभागी प्रतियोगितामा डीआरएसले प्रारम्भिक चरणमै उत्कृष्ट प्रदर्शन गर्दै हाल सातौं स्थान बनाएको छ र सर्भाइभल स्टेजमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गरिरहेको छ। फ्री फायर विश्लेषक विशाल सापकोटाका अनुसार नेपाली टोलीले विश्वका स्थापित क्लबहरूसँग आत्मविश्वासका साथ खेलिरहेको छ। उनका अनुसार टोलीको लक्ष्य फाइनल चरणमा पुग्नुका साथै शीर्ष तीनभित्र स्थान बनाउनु रहेको छ।
यता, पब्जी मोबाइलतर्फ नेपालको होरा ईस्पोर्ट्स पनि दक्षिण एसियाली छनोट पार गर्दै विश्वकपमा पुगेको छ। टोली अगस्ट ३ मा पेरिस प्रस्थान गर्ने तयारीमा रहेको छ। होरा ईस्पोर्ट्समा सुवास राना ‘नो फियर’, आकाश सोताङ राई ‘स्काई’, शीतल राई ‘स्लिपी’, सुप्रिम अधिकारी ‘जिगल’, प्रवेश गुरुङ ‘हैट दामी’ र उजेन लामा ‘निन्जा होरा’ रहेका छन् भने प्रशिक्षकको जिम्मेवारी दिनेश रोका मगरले सम्हालिरहेका छन्।
गत वर्षको प्रतियोगितामा नवौं स्थान हासिल गर्दै १ लाख २७ हजार ५ सय अमेरिकी डलर पुरस्कार जितेको होरा ईस्पोर्ट्सले यसपटक पदकसहित स्वदेश फर्कने लक्ष्य लिएको जनाएको छ। टोलीका संस्थापक सञ्जन गौतम (सीआर सेभेन होरा)ले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे पनि सरकारले पुरस्कारमा कर काट्नेबाहेक ईस्पोर्ट्स क्षेत्रको विकासमा पर्याप्त सहयोग नगरेको गुनासो गरेका छन्।
ईस्पोर्ट्स फाउन्डेसनद्वारा आयोजित प्रतियोगिता अगस्ट २३ सम्म चल्नेछ। यसमा फ्री फायर, पब्जी मोबाइल, भ्यालोरान्ट, काउन्टर-स्ट्राइक २, डोटा २, लिग अफ लेजेन्ड्स, मोबाइल लेजेन्ड्स र चेसलगायत लोकप्रिय खेल समावेश छन्। सन् २०२३ मा डीआरएस गेमिङले पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपमा उपविजेता बनेपछि नेपालमा ईस्पोर्ट्सप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढेको मानिन्छ।