काठमाडौं । मनसुन सक्रिय भएसँगै सुनसरी, मोरङ लगायत पूर्वी क्षेत्रका स-साना नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले ती क्षेत्रमा मध्यम स्तरको बाढी जोखिम रहेको भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
शनिबार बिहान जारी बुलेटिन अनुसार निरन्तर वर्षाका कारण सुनसरी, मोरङ तथा आसपासका जिल्लाका साना नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना देखिएको छ। त्यसैले नदी किनार र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यद्यपि हाल देशका प्रमुख नदीहरू कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूको जलसतह भने सामान्य अवस्थामा रहेको छ। यी नदीहरूको बहाव अझै सतर्कता तहभन्दा तल रहेको विभागले जनाएको छ।
महाशाखाले आगामी तीन दिनको पूर्वानुमान सार्वजनिक गर्दै असार ७ र ८ गते कोशी, बागमती र गण्डकी प्रदेशका केही स-साना नदी तथा खोलाहरूमा बहाव अचानक बढ्न सक्ने चेतावनी दिएको छ। लगातार वर्षा भएमा केही स्थानमा आकस्मिक बाढीको अवस्था समेत सिर्जना हुन सक्ने अनुमान गरिएको छ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै नदी किनारमा आवतजावत गर्ने, माछा मार्ने, ढुंगा-गिट्टी निकाल्ने तथा अन्य गतिविधिमा संलग्न हुने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। स्थानीय प्रशासन र सम्बन्धित निकायलाई समेत सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुझाव दिइएको छ।