काठमाडौँ । अमेरिकी युट्युबर जिमी डोनाल्डसन, जसलाई विश्वभर मिस्टर बिस्ट (MrBeast) का नामले चिनिन्छ, युट्युबको इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै ५० करोड (५०० मिलियन) सब्सक्राइबरको आँकडा पार गर्ने विश्वकै पहिलो क्रिएटर बनेका छन्। शुक्रबार उनले यो उपलब्धि हासिल गर्दै डिजिटल कन्टेन्ट निर्माणको दुनियाँमा अर्को ऐतिहासिक अध्याय लेखेका हुन्।
मिस्टर बिस्ट सन् २०२२ को नोभेम्बरमा सबैभन्दा धेरै सब्सक्राइबर भएका व्यक्तिगत क्रिएटर बनेका थिए भने सन् २०२४ जुनमा युट्युबकै सबैभन्दा धेरै सब्सक्राइबर भएको च्यानलको कीर्तिमान पनि आफ्नै नाममा लेखाएका थिए। उनको चर्चित भिडियो ‘स्क्विड गेम इन रियल लाइफ’ एक अर्ब भ्युजको नजिक पुगेको छ, जसलाई उनको करियरको कोशेढुङ्गामध्ये एक मानिन्छ।
भव्य चुनौतीपूर्ण भिडियो र ठूलो पुरस्कार राशिका इभेन्टका लागि परिचित मिस्टर बिस्टले ‘५० युट्युबरबीच १० लाख डलरको प्रतिस्पर्धा’ जस्ता कन्टेन्टमार्फत युट्युब मनोरञ्जनलाई नयाँ उचाइमा पुर्याएका छन्।
५० करोड सब्सक्राइबर नजिकिँदै गर्दा उनले विशेष लाइभ स्ट्रिमसमेत गरेका थिए, जसलाई ६ लाखभन्दा बढी दर्शकले प्रत्यक्ष हेरेका थिए। सो क्रममा केही प्रशंसकहरूले मजाकका रूपमा केही समय अनसब्सक्राइब गरेर पुनः सब्सक्राइब गर्दै ऐतिहासिक क्षणलाई थप रोचक बनाएका थिए।
उपलब्धिपछि भावुक बनेका मिस्टर बिस्टले आफ्नो संघर्षपूर्ण विगत पनि सम्झिए। सन् २००८ को आर्थिक संकटका बेला परिवार आर्थिक समस्यामा परेको र सुरुवाती दिनमा भिडियो निर्माणका उपकरण किन्न विज्ञापनबाट आएको आम्दानी बचत गर्नुपरेको उनले बताए।
"मैले ११ वर्षको उमेरमा युट्युब फेला पारेँ र यसैमा आफ्नो सर्वस्व समर्पित गरेँ ", उनले भने, "कुनै पनि क्षेत्रमा निपुण हुन १० हजार होइन, एक लाख घण्टा अभ्यास आवश्यक पर्छ भन्ने मलाई लाग्छ। म आफैं युट्युब भिडियो बनाउन ६० देखि ७० हजार घण्टा खर्च गरिसकेको छु।"
उनले आफ्ना समर्थकहरूलाई सपना पछ्याउन, निरन्तर मेहनत गर्न र असफलतासँग नडराउन प्रेरित समेत गरे। साथै, ५०० मिलियन सब्सक्राइबर विशेष भिडियो शनिबार सार्वजनिक गर्ने घोषणा गर्दै आगामी दिनमा अझ उत्कृष्ट सिनेमेटोग्राफी, मानव सेवामुखी काम र आफ्नो चकलेट ब्रान्ड ुफिस्टेबल्सु मार्फत नयाँ योजनामा केन्द्रित हुने बताएका छन्।
मनोरञ्जनसँगै परोपकारलाई पनि आफ्नो अभियान बनाएका मिस्टर बिस्टले २० मिलियन सब्सक्राइबर पुगेपछि सुरु गरेको #TeanTrees अभियानमार्फत २५ मिलियन डलरभन्दा बढी रकम संकलन गरी २५ मिलियन रूख रोप्न सहयोग गरेका थिए। त्यस्तै, #TeamSeas अभियानले ३० मिलियन डलरभन्दा बढी उठाएर समुद्र, नदी र तटीय क्षेत्रबाट फोहोर हटाउने काम गरेको थियो। सन् २०२५ मा मार्क रोबरसँग मिलेर सञ्चालन गरिएको #TeamWater अभियानमार्फत ११५ देशका क्रिएटरहरूले WaterAid का लागि ४० मिलियन डलर जुटाएका थिए।
५० करोड सब्सक्राइबरको यो उपलब्धिले मिस्टर बिस्टलाई केवल युट्युब स्टार मात्र नभई विश्वव्यापी प्रभाव पार्ने डिजिटल युगका एक शक्तिशाली क्रिएटरका रूपमा स्थापित गरेको छ।