काठमाडौं । सरकारी कार्यालयहरूमा कर्मचारी अनुशासन र सेवा प्रवाहको अवस्था अझै कमजोर रहेको पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रले मङ्गलबार गरेको छड्के अनुगमनका क्रममा नेपाल टेलिकमका मात्रै ७० जना कर्मचारी कारबाहीको दायरामा परेका छन्।
केन्द्रले सेवा प्रवाह, समय पालना, कार्यालय पोसाक तथा आचरणसम्बन्धी व्यवस्थाको अनुगमन गर्दा टेलिकममा ६३ जना कर्मचारी निर्धारित समयमा कार्यालयमा उपस्थित नभएको वा ढिला आएको भेटिएको जनाएको छ। त्यस्तै, तोकिएको कार्यालय पोसाक नलगाएका थप ७ जना कर्मचारी पनि फेला परेका छन्।
सतर्कता केन्द्रले ती कर्मचारीमाथि निजामती सेवा ऐन, २०४९ तथा अन्य प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाई जानकारी गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
अनुगमनले नेपाल टेलिकममा मात्र नभई सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र विभागहरूमा समेत कर्मचारी अनुशासनको समस्या रहेको देखाएको छ। केन्द्रका अनुसार नीति निर्माण र प्रशासनिक नेतृत्व गर्ने सरकारी निकायहरूमा समेत समय पालना र कार्यालय आचरणमा कमजोरी देखिएको छ।
प्रविधि तथा सञ्चार क्षेत्रको नेतृत्व गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मात्रै १० जना कर्मचारी अनुपस्थित वा ढिला उपस्थित भएको पाइएको छ। यसले सेवा प्रवाहमा सुधार र कर्मचारी उत्तरदायित्वका विषयमा सरकारको चुनौती अझै कायम रहेको संकेत गरेको छ।
सतर्कता केन्द्रले सार्वजनिक सेवा प्रभावकारी बनाउन नियमित अनुगमनलाई थप कडाइका साथ अघि बढाउने जनाएको छ।