काठमाडौं । एसईई र कक्षा-१२ को परीक्षाका क्रममा जफत गरिएका मोबाइल फोन तथा स्मार्टवाच प्रशासनले नष्ट गरेको घटनाविरुद्ध विद्यार्थी संगठनहरूले आन्दोलनको घोषणा गरेका छन्। संयुक्त विद्यार्थी संगठनको आह्वानमा सोमबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय सिरहाको अगाडि विरोध प्रदर्शन गरिने भएको हो।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सूचनामा ‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ भन्ने मुख्य नारासहित प्रदर्शनमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आह्वान गरिएको छ। विद्यार्थी संगठनहरूले जफत गरिएका मोबाइलको उचित क्षतिपूर्ति, विद्यार्थीमाथि भएको भनिएको दमनको अन्त्य तथा पीडित विद्यार्थीलाई न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
अनेरास्ववियु मधेश प्रदेश संयोजक सतिशचन्द्र सिंहका अनुसार प्रदर्शनको उद्देश्य सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुका साथै विद्यार्थीका जायज माग सम्बोधन गर्न दबाब सिर्जना गर्नु रहेको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले गत चैतमा सम्पन्न एसईई र कक्षा-१२ को परीक्षाका क्रममा बरामद गरिएका करिब ५०० मोबाइल फोन तथा स्मार्टवाच पानीमा डुबाएर नष्ट गरेको थियो।
प्रशासनका अनुसार परीक्षाको मर्यादा कायम राख्न तथा भविष्यमा यस्ता उपकरणको दुरुपयोग रोक्न उक्त कदम चालिएको हो।प्रशासनले सात वटा आईफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल फोन तथा पाँच वटा स्मार्टवाच बरामद गरेको जनाएको छ। ती उपकरणहरूको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ।
शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका परीक्षा शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा गठन गरिएको पाँच सदस्यीय समितिले जिल्ला प्रहरी कार्यालय परिसरमा मोबाइलहरू २४ घण्टा पानीमा डुबाएर राखेपछि प्रयोग गर्न नसकिने अवस्थामा पुर्याई फुटाएर नष्ट गरेको जनाएको छ। तर प्रशासनको उक्त निर्णयप्रति अभिभावक, कानुन व्यवसायी तथा विद्यार्थी संगठनहरूले गम्भीर प्रश्न उठाएका छन्। उनीहरूले कानुनी प्रक्रिया पूरा नगरी निजी सम्पत्ति नष्ट गरिएको आरोप लगाउँदै क्षतिपूर्ति र निष्पक्ष छानबिनको माग गरेका छन्।
मोबाइल नष्ट गर्ने निर्णयलाई लिएर अहिले सिरहामा बहस चर्किएको छ। एकातिर प्रशासनले परीक्षाको मर्यादा जोगाउन कदम आवश्यक रहेको दाबी गरिरहेको छ भने अर्कोतर्फ विद्यार्थी र अभिभावकहरूले राज्यले कानुनी प्रक्रिया मिचेर निजी सम्पत्तिमा क्षति पुर्याएको आरोप लगाइरहेका छन्।