काठमाडौं । मनसुन सुरु हुन अब करिब तीन हप्ता मात्रै बाँकी रहँदा सरकारले मौसमजन्य स्वास्थ्य चुनौतीहरूको सामना गर्न देशव्यापी तयारीलाई तीव्र बनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका स्थानीय तहहरूमा तालिमप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीसहितका द्रुत प्रतिकार्य टोली (र्यापिड रेस्पोन्स टिम) लाई तयारी अवस्थामा राखिएको जनाएको छ।
मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी मनसुनजन्य विपद् तथा त्यसबाट उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिम व्यवस्थापनका लागि विशेष कार्ययोजना कार्यान्वयनमा ल्याइएको छ। वर्षायाममा बढ्ने तापक्रम, उच्च आर्द्रता र निरन्तर वर्षाका कारण खाद्य विषाक्तता, झाडापखाला, हैजा, डेंगु लगायत पानीजन्य तथा किटजन्य रोग फैलिने सम्भावना उच्च रहने भएकाले सरकारले आवश्यक पूर्वतयारी गरेको जनाएको छ।
स्वास्थ्य मन्त्रालयले सम्भावित स्वास्थ्य संकटको सामना गर्न औषधि, स्वास्थ्य सामग्री तथा आपत्कालीन उपकरणहरूको पर्याप्त व्यवस्था मिलाइएको जानकारी दिएको छ। साथै, आकस्मिक अवस्थामा तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न अस्पतालहरूसँग समन्वय र सहकार्यलाई पनि सुदृढ बनाइएको छ।
मनसुनका बेला बाढी तथा डुबानका कारण खानेपानीका स्रोतहरू दूषित हुन सक्ने र सरसफाइ व्यवस्थापन प्रभावित हुन सक्ने भएकाले राष्ट्रियस्तरमै मनसुन पूर्वतयारी योजना लागू गरिएको मन्त्रालयले जनाएको छ। स्थानीय तहहरूसँगको सहकार्यमा समुदायस्तरमा जनचेतना अभिवृद्धि कार्यक्रमसमेत सञ्चालन भइरहेका छन्।
मन्त्रालयले नागरिकहरूलाई व्यक्तिगत तथा सामुदायिक सरसफाइमा विशेष ध्यान दिन, लामखुट्टेको वृद्धि हुन नदिन र पोषणयुक्त आहार सेवन गर्न आग्रह गरेको छ। साथै, उमालेर वा शुद्धीकरण गरिएको पानी मात्र पिउन, बासी तथा असुरक्षित खाना सेवन नगर्न र फलफूल तथा तरकारी राम्ररी सफा गरेर मात्रै प्रयोग गर्न सुझाव दिएको छ।
कुनै पनि स्वास्थ्य समस्या वा संक्रमणका लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले सर्वसाधारणलाई अनुरोध गरेको छ। मनसुन नजिकिँदै जाँदा स्वास्थ्य सतर्कता र व्यक्तिगत सावधानी नै सम्भावित जोखिमबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय हुने विज्ञहरूले बताएका छन्।