काठमाडौं । बलिउड अभिनेत्री माधुरी दीक्षित कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोगबाट सिर्जना गरिएको ‘डिपफेक’ भिडियोको शिकार बनेकी छन्। पछिल्लो समय सामाजिक सञ्जालमा उनको नाममा एउटा भिडियो तीव्र रूपमा भाइरल भएपछि यसले फेरि एकपटक एआई प्रविधिको दुरुपयोगबारे बहस चर्काएको छ।
भाइरल भिडियोमा माधुरी दीक्षितलाई खुला शैलीको कालो पहिरनमा देखाइएको छ। भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनको पहिरन र व्यक्तित्वलाई लिएर विभिन्न टिप्पणीहरू हुन थालेका थिए। तर पछि उक्त भिडियो वास्तविक नभई एआई प्रविधिको प्रयोग गरी तयार पारिएको नक्कली सामग्री रहेको पुष्टि भएको छ।
भारतीय पत्रकार जयदीप पाण्डेले सामाजिक सञ्जालमार्फत उक्त भिडियो पूर्ण रूपमा डिपफेक भएको दाबी गरेका छन्। त्यसपछि धेरै प्रयोगकर्ताले भिडियोको सत्यतामाथि प्रश्न उठाएका थिए। सामाजिक सञ्जाल प्लेटफर्म एक्सले समेत एक पोस्टमा कम्युनिटी नोट जारी गर्दै भिडियो एआईको सहायताले बनाइएको भ्रामक सामग्री भएको उल्लेख गरेको छ।
पछिल्ला वर्षहरूमा मनोरञ्जन क्षेत्रका चर्चित कलाकारहरू डिपफेक प्रविधिको निशानामा पर्दै आएका छन्। यसअघि रश्मिका मन्दना, कट्रिना कैफ, कीर्ति सुरेश तथा रुक्मिणी वसन्त जस्ता कलाकारहरू पनि यस्तै नक्कली तस्बिर र भिडियोको शिकार भइसकेका छन्।
विशेषगरी सन् २०२३ मा रश्मिका मन्दनाको डिपफेक भिडियो सार्वजनिक भएपछि एआई प्रविधिको दुरुपयोगबारे विश्वव्यापी बहस सुरु भएको थियो। अनुसन्धानबाट उक्त भिडियो वास्तवमा बेलायती-भारतीय सामाजिक सञ्जाल प्रभावक जारा पटेलको रहेको र एआईको माध्यमबाट उनको अनुहार हटाएर रश्मिकाको अनुहार जोडिएको खुलासा भएको थियो।
प्रविधिको तीव्र विकाससँगै डिपफेक सामग्री निर्माण सहज बन्दै गएको छ। यसले कलाकार, सार्वजनिक व्यक्तित्व तथा सर्वसाधारणको गोपनीयता र प्रतिष्ठामाथि चुनौती थप्दै गएको भन्दै विज्ञहरूले एआईको जिम्मेवार प्रयोग र कडा नियमन आवश्यक रहेको बताएका छन्।