काठमाडौं । अमेरिकी अर्बपति जेफ बेजोसको स्वामित्वमा रहेको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनलाई फेरि ठूलो धक्का लागेको छ। कम्पनीको महत्त्वाकांक्षी ‘न्यू ग्लेन’ रकेट फ्लोरिडास्थित केप क्यानाभेरलको लन्च प्याडमा परीक्षणका क्रममा विस्फोट भएको हो।
बिहीबार गरिएको ‘हटफायर’ परीक्षणका क्रममा अचानक प्राविधिक समस्या देखिएपछि रकेट विस्फोट भएको कम्पनीले जनाएको छ। घटनामा कुनै मानवीय क्षति नभएको बताइए पनि दुर्घटनाले ब्लू ओरिजिनको अन्तरिक्ष कार्यक्रम र सुरक्षा व्यवस्थामाथि नयाँ प्रश्न उठाएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा करिब ९८ मिटर अग्लो न्यू ग्लेन रकेटको तल्लो भागबाट बाक्लो धुवाँ निस्किएको र केही क्षणमै ठूलो आगोको मुस्लोमा परिणत भएको देखिन्छ। विस्फोटपछि कम्पनीले एक्समार्फत सबै कर्मचारी सुरक्षित रहेको जानकारी दिएको थियो।
न्यू ग्लेन ब्लू ओरिजिनको दीर्घकालीन अन्तरिक्ष रणनीतिको प्रमुख परियोजना मानिन्छ। त्यसैले परीक्षणमै भएको यो दुर्घटनालाई कम्पनीका लागि ठूलो चुनौतीका रूपमा हेरिएको छ। जेफ बेजोसले घटनाको कारण पहिचान गर्न समय लाग्ने बताउँदै अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। उनले आवश्यक संरचना पुनर्निर्माण गरेर कम्पनी फेरि उडानमा फर्किने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
ब्लू ओरिजिनका प्रमुख प्रतिस्पर्धी स्पेसएक्सका संस्थापक एलन मस्कले पनि घटनाप्रति दुःख व्यक्त गर्दै यसलाई दुर्भाग्यपूर्ण घटना बताएका छन्। नासा र ब्लू ओरिजिन हाल आर्टेमिस चन्द्र अभियानअन्तर्गत चन्द्र ल्यान्डर विकासमा सहकार्य गरिरहेका छन्। नासाले पनि घटनाबारे जानकारी रहेको जनाउँदै विस्तृत अनुसन्धान, आगामी मिसनमा पर्ने प्रभावको मूल्याङ्कन तथा पुनः प्रक्षेपण तयारी अघि बढाइने जनाएको छ।
ब्लू ओरिजिन यसअघि पनि प्राविधिक समस्याले चर्चामा आएको थियो। गत महिना न्यू ग्लेन रकेटले सञ्चार उपग्रहलाई निर्धारित कक्षामा पुर्याउन नसकेको थियो। त्यसपछि अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले कम्पनीलाई दुर्घटना अनुसन्धान गर्न निर्देशन दिएको थियो। कम्पनीका अनुसार उक्त अनुसन्धान हालै मात्र सम्पन्न भएको थियो।