काठमाडौँ । लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियनले आज ३५औँ स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइरहेको छ। स्थापना दिवसका अवसरमा युनियनका शाखाहरूले विविध कार्यक्रम आयोजना गरेका छन् भने केन्द्रीय समितिले काठमाडौँमा विधान महाधिवेशन आयोजना गरेको छ।
विधान महाधिवेशनको पूर्वसन्ध्यामा बिहान ७ बजे माइतीघर मण्डलामा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो। त्यसपछि बिहान ९ बजेदेखि विधान महाधिवेशन सुरु भएको युनियनका अध्यक्ष शिव लम्साल ले जानकारी दिएका छन्। महाधिवेशनको उद्घाटन प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट हुने तय गरिएको छ।
युनियनका उपाध्यक्ष जीवन भण्डारी का अनुसार विधान महाधिवेशनका लागि देशभरका शाखाबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा प्रतिनिधिहरू काठमाडौँ आइपुगेका छन्। महाधिवेशनमार्फत संगठनलाई थप व्यवस्थित, प्रभावकारी र समयानुकूल बनाउने उद्देश्य राखिएको बताइएको छ।
वि.सं. २०४८ साल जेठ १३ गते श्रमजीवी पत्रकारहरूको हकहित संरक्षणका लागि भएको ट्रेड युनियन आन्दोलनकै उपजका रूपमा नेपाल प्रेस युनियनको स्थापना भएको थियो। युनियनले स्थापना कालदेखि नै प्रेस स्वतन्त्रता, लोकतन्त्र, श्रमजीवी पत्रकारको अधिकार तथा मिडियामैत्री नीतिगत व्यवस्थाका लागि आवाज उठाउँदै आएको छ।
युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघबाट नेपालमा सदस्यता प्राप्त गर्ने पहिलो पत्रकार संगठनसमेत हो। संगठनको पहिलो तदर्थ समितिको संयोजक पूर्वमन्त्री तथा तत्कालीन पत्रकार जेपी गुप्ता रहेका थिए। हालसम्म युनियनको नेतृत्व हरि अधिकारी, रमेश तुफान, तारा बराल, कुलचन्द्र वाग्ले, मुरारीकुमार शर्मा, समीरजंग शाह, किरण पोखरेल र बद्री सिग्देलले गरिसकेका छन् भने अहिले शिव लम्साल नेतृत्वमा रहेका छन्।
युनियनका महासचिव दिलीप पौडेलले श्रमजीवी पत्रकारहरूको हकअधिकार, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि संगठनले निरन्तर नेतृत्वदायी भूमिका खेल्दै आएको बताएका छन्।