काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मंगलबार देशका ११ जिल्लामा हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार कोशीदेखि लुम्बिनी प्रदेशसम्मका विभिन्न जिल्ला तथा आसपासका क्षेत्रमा दिउँसोपछि हावाहुरीको जोखिम रहनेछ।
विभागका अनुसार कोशी प्रदेशका झापा र मोरङ, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही र धनुषा, बागमती प्रदेशका मकवानपुर र चितवन, गण्डकी प्रदेशका नवलपुर र तनहुँ तथा लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा हावाहुरीको सम्भावना रहेको छ। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको विभागले जनाएको छ। यसकै प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ।
त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशका तराई भू-भागसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिनको अवस्था कायम रहनेछ। साथै मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको जोखिम रहने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।