काठमाडौँ । गुगलले आईफोन प्रयोगकर्तालाई आफ्नो एन्ड्रोइड इकोसिस्टममा आकर्षित गर्न रणनीतिमा व्यापक परिवर्तन गरेको छ। हालै आयोजित एन्ड्रोइड शोमार्फत कम्पनीले आईफोन छोड्न चाहने प्रयोगकर्ताका लागि स्विच प्रक्रिया सहज बनाउने लक्ष्य सार्वजनिक गरेको हो।
पछिल्ला केही वर्षमा गुगलको पिक्सेल रणनीतिमा उल्लेखनीय परिवर्तन आएको छ। अन्य एन्ड्रोइड निर्माता कम्पनीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नुको सट्टा कम्पनीले प्लेटफर्मको समग्र विस्तार र आफ्ना सेवाको पहुँच वृद्धि गर्ने रणनीति अपनाएको देखिन्छ। यही कारणले नयाँ एन्ड्रोइड फिचरहरू सुरुमा सामसङ का ग्यालेक्सी उपकरणमा उपलब्ध गराइने र पछि अन्य एन्ड्रोइड डिभाइसमा विस्तार गरिने गरिएको छ।
गुगलले विशेष गरी असन्तुष्ट आईओएस प्रयोगकर्तालाई लक्षित गर्दै नयाँ सुविधा सार्वजनिक गरेको छ। पिक्सेल १० सिरिजमा समावेश गरिएको क्विक शेयर र एप्पल को एयरड्रपबीचको कम्प्याटिबिलिटीले प्रयोगकर्तालाई सहज डेटा ट्रान्सफर अनुभव दिने अपेक्षा गरिएको छ।
यससँगै कम्पनीले आईफोनबाट एन्ड्रोइडमा स्विच गर्दा फाइल मात्र होइन, पासवर्ड र होम स्क्रिन लेआउटसमेत सजिलै आयात गर्न सकिने व्यवस्था गरेको छ। पुरानो प्रयोग शैलीमा अभ्यस्त आईओएस प्रयोगकर्तालाई सहज अनुभव दिन गुगलले विशेष ध्यान दिएको बताइएको छ। गुगलको यो रणनीतिले सकारात्मक परिणाम दिन थालेको दाबी गरिएको छ। पिक्सेल ९ र पिक्सेल १० सिरिजको बिक्रीमा उल्लेखनीय वृद्धि देखिएको छ, जसमा ठूलो हिस्सा पहिले आईफोन प्रयोग गर्ने ग्राहकको रहेको जनाइएको छ।
हालको आईओएस २६ मा विभिन्न प्राविधिक समस्या र ग्लिच देखिएपछि केही प्रयोगकर्ता विकल्प खोज्न थालेका छन्। अर्कोतर्फ एन्ड्रोइड १६ र गुगलको ‘मटेरियल ३ एक्सप्रेसिभ’ डिजाइनलाई प्रयोगकर्ता-मैत्री र आकर्षक मानिएको छ। आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रमा पनि गुगलको जेमनाई लाई एप्पल इन्टेलिजेन्सभन्दा अगाडि रहेको विश्लेषण गरिएको छ। गुगलले एआईलाई जटिल प्रणालीको रूपमा नभई पृष्ठभूमिमा सहज रूपमा काम गर्ने सेवाका रूपमा विकास गरिरहेको जनाएको छ।
यद्यपि, गुगलको रणनीतिमा केही विरोधाभास पनि देखिन्छ। कम्पनीले विकास गरेको फोटो एडिटर एप स्न्यापसिड ४.० एन्ड्रोइडभन्दा पहिले आईफोनमा सार्वजनिक गरिएको थियो। साथै, एप्पलसँगको बहुवर्षीय साझेदारीमार्फत एप्पल इन्टेलिजेन्समा जेमनाई सेवा समावेश गर्ने योजना पनि अघि बढाइएको छ।
समग्रमा, गुगलले प्रविधि उत्साहीको आलोचनाभन्दा साधारण प्रयोगकर्ताको आवश्यकता र सहज अनुभवलाई प्राथमिकता दिएको देखिन्छ। पिक्सेल उपकरणको बढ्दो लोकप्रियता र सफ्टवेयर सुधारसँगै आईफोनबाट दिक्क भएका प्रयोगकर्ताका लागि पिक्सेल १० सम्भावित विकल्पका रूपमा उभिएको छ।