काठमाडौं । आज विश्वभर ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । हरेक वर्ष मे १७ मा मनाइने यस दिवसले इन्टरनेट तथा सूचना-सञ्चार प्रविधि (आइसिटी) को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने सम्भावनाबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।
यस दिवसको मुख्य उद्देश्य डिजिटल पहुँच विस्तार गर्दै सूचना-प्रविधिमा आधारित सेवा सबै नागरिकसम्म पुर्याउनुका साथै ‘डिजिटल विभाजन’ कम गर्नु हो । डिजिटल विभाजन भन्नाले इन्टरनेट, कम्प्युटर, स्मार्टफोन तथा अन्य सूचना-प्रविधिमा पहुँच भएका र पहुँच नभएका व्यक्ति, समुदाय वा क्षेत्रबीचको असमानतालाई जनाइन्छ ।
विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिक अझै गुणस्तरीय इन्टरनेट सेवा, डिजिटल शिक्षा र प्रविधि प्रयोगसम्बन्धी सीपबाट वञ्चित रहँदा डिजिटल असमानता बढिरहेको विज्ञहरूले बताएका छन् । शहरका नागरिकले सहज रूपमा अनलाइन सेवा र डिजिटल सुविधा उपयोग गर्न पाउँदा ग्रामीण भेगका धेरै नागरिक भने त्यस्तो सुविधाबाट टाढा छन् ।
विश्व दूरसञ्चार दिवस सन् १९६९ देखि मनाउन सुरु गरिएको हो । अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को स्थापना तथा सन् १८६५ मा पहिलो अन्तरराष्ट्रिय टेलिग्राफ महासन्धिमा हस्ताक्षर भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
सन् १९७३ मा स्पेनको मालागा-टोरेमोलिनोसमा सम्पन्न आइटियुको पूर्णाधिकार सम्मेलनले प्रस्ताव नं ४६ मार्फत यस दिवसलाई औपचारिक मान्यता दिएको थियो । त्यसपछि सूचना समाजसम्बन्धी विश्व शिखर सम्मेलन (डब्ल्युएसआइएस) को सिफारिसअनुसार संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् २००६ देखि मे १७ लाई ‘विश्व सूचना समाज दिवस’ का रूपमा समेत मनाउने निर्णय गरेको हो ।
राष्ट्रसङ्घका अनुसार सूचना-प्रविधिको पहुँच र प्रयोगले शिक्षा, स्वास्थ्य, व्यापार, सञ्चार तथा आर्थिक विकासका क्षेत्रमा व्यापक अवसर सिर्जना गर्न सक्छ । त्यसैले सबै नागरिकलाई डिजिटल पहुँचमा जोड्ने वातावरण निर्माण गर्न विश्व समुदायलाई आह्वान गरिएको छ ।