काठमाडौँ । यस वर्षको दशैंमा प्रदर्शनको तयारीमा रहेको बाटुलो जून चलचित्रका निर्माता र वितरकबीच आर्थिक लेनदेन र वितरण अधिकारलाई लिएर विवाद उत्पन्न भएको छ।
विवाद तब सार्वजनिक भयो जब गोविन्द शाही नेतृत्वको काफिया फिल्म्सले निर्मात्री जिया केसी सँग भएको सम्झौता सार्वजनिक गर्दै २४ घन्टाभित्र हिसाब चुक्ता गर्न अल्टिमेटम दियो। शाहीले काफिया फिल्म्सको बाँकी रकम नतिरी जिया केसी र भुवन केसीले अर्को वितरकलाई फिल्म दिएको आरोप लगाएका छन्। तर जियाले उक्त आरोप अस्वीकार गर्दै काफिया फिल्म्सले नै तोकिएको मितिमा फिल्म प्रदर्शन गर्न नसक्ने जानकारी दिएको दाबी गरेकी छन्।
उनका अनुसार, सम्झौताका सर्तहरू काफिया फिल्म्सले नै उल्लंघन गरेको र निर्धारित समयभित्र फिल्म प्रदर्शन नभएकाले आफूहरूले अन्य विकल्प रोज्न बाध्य भएको बताइएको छ।
दुवै पक्षबीच भएको सम्झौताअनुसार जियाको कम्पनी सनराइज पिक्चर ले काठमाडौँ उपत्यकाभित्र १२ प्रतिशत कमिसनमा वितरण अधिकार काफिया फिल्म्सलाई दिएको थियो। साथै, वितरण जिम्मेवारीबापत काफियाले ५० लाख रुपैयाँ दिने र नोक्सानी भएमा उक्त रकम तीन महिनाभित्र फिर्ता गर्नुपर्ने सर्त उल्लेख थियो। काफियाले यसमध्ये १० लाख रुपैयाँ अग्रिम भुक्तानी गरिसकेको बताइएको छ।
विवादको मुख्य कारण भने दशैं रिलिज टकराव देखिएको छ। काफिया फिल्म्सले वितरण गर्न लागेको १२ गाउँ २ र ‘बाटुलो जून’ एउटै समयमा प्रदर्शन हुने भएपछि निर्माता पक्षले काठमाडौं वितरण अधिकार अन्य कम्पनीलाई दिएको जनाइएको छ।
हाल विवाद समाधानका लागि चलचित्र निर्माता संघ र अन्य सम्बन्धित संस्थाहरूको समन्वयमा छलफल भइरहेको जनाइएको छ। दुवै पक्षबीच सहमति जुट्ने वा विवाद कानुनी प्रक्रियातर्फ जाने भन्ने विषयमा अझै स्पष्टता आएको छैन।
यस घटनाले नेपाली फिल्म क्षेत्रमा वितरण प्रणाली, सम्झौता कार्यान्वयन र रिलिज व्यवस्थापनबारे पुनः बहस सुरु गराएको छ।