काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘परालको आगो’ ले घरेलु बक्स अफिसमा उत्साहजनक सुरुवात गरेको छ। निर्माताका अनुसार फिल्मले प्रदर्शनको पहिलो दुई दिनमै १ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्न सफल भएको छ।
एक सयभन्दा बढी शोजसहित प्रदर्शनमा आएको फिल्मले पहिलो दिन करिब ४० लाख रुपैयाँ कमाएको थियो भने दोस्रो दिन शनिबार ६० लाखभन्दा बढी व्यापार गरेको जनाइएको छ।
प्रदर्शनको पहिलो दिन फिल्मले देशव्यापी करिब ३० प्रतिशत अकुपेन्सी हासिल गरेको थियो। काठमाडौंसहित नेपालगञ्ज, धनगढी र बुटवल जस्ता प्रमुख सहरहरूमा बिहानैदेखि शोहरू भरिभराउ देखिएका थिए। पहिलो शोबाट प्राप्त सकारात्मक प्रतिक्रियाको प्रभाव मध्यान्हपछिका शोहरूमा झन् बढ्दै गएको थियो। शनिबार भने फिल्मले ५० प्रतिशतभन्दा बढी अकुपेन्सी हासिल गरेको जनाइएको छ।
फिल्म प्रदर्शनसँगै निर्माता, निर्देशक तथा कलाकारहरू विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन्। शनिबार मुख्य कलाकार प्रकाश सपूत र सुहाना थापा काठमाडौंको अष्टनारायण हल पुगेका थिए, जहाँ दर्शकको अत्यधिक भीडका कारण ट्राफिक व्यवस्थापनमा समेत समस्या देखिएको थियो। उक्त हलमा मात्रै करिब १ हजार दर्शकले फिल्म हेरेका थिए।
दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले कलाकारहरू उत्साहित देखिएका छन्। सुहानाले ‘गौंथली’ पात्र दर्शकको मनमा बस्न सफल भएको बताउँदै भावुक प्रतिक्रिया पाएको उल्लेख गरिन्। लक्ष्मण सुनार को निर्देशनमा बनेको यस फिल्ममा प्रकाश सपूत र सुहाना थापासहित सौगात मल्ल, सिर्जना अधिकारी, शंकर आचार्य, ज्याक श्रेष्ठ, किशोर भण्डारी, सरिता भण्डारी र मन्जिला बानियाँलगायत कलाकारहरूको अभिनय रहेको छ।
सुशील देवकोटा द्वारा लेखिएको पटकथा र संवादमा आधारित यस फिल्मले श्रीमान्-श्रीमतीबीचको सम्बन्ध र द्वन्द्वलाई मुख्य विषयवस्तु बनाएको छ।