काठमाडौं । नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको राम नाम सत्य ले घरेलु बक्स अफिसमा उल्लेखनीय व्यापार गरेको दाबी गरिएको छ। फिल्मले प्रदर्शनको सुरुआती दिनमै दर्शकको राम्रो साथ पाउँदै आएको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फिल्मले ९ दिनमा २ करोड ७९ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ। उक्त कमाइ ९७ हजार २०५ वटा टिकट बिक्रीबाट आएको जनाइएको छ।
तर, वितरक गोविन्द शाहीले भने बोर्डको तथ्यांकभन्दा फिल्मको वास्तविक कमाइ बढी रहेको दाबी गरेका छन्। उनका अनुसार सोमबारसम्म फिल्मले ३ करोड २० लाख रुपैयाँ कमाइसकेको छ। केही हलहरूमा बक्स अफिस सिस्टम पूर्ण रूपमा जडान नभएकाले बोर्डको तथ्यांकभन्दा वास्तविक व्यापार बढी देखिएको उनको भनाइ छ। साथै, दर्शकको उपस्थिति अझै सन्तोषजनक रहेकाले आगामी दिनमा कमाइ थप बढ्ने विश्वास व्यक्त गरिएको छ।
फिल्मका निर्माता उपेन्द्र शाही ले पनि व्यापारप्रति सन्तुष्टि जनाएका छन्। उनका अनुसार फिल्मको लगानी सुरक्षित हुने अवस्थामा पुगेको छ। अमेरिकाबाहेकका विदेशी बजारबाट करिब ७० लाख रुपैयाँ र डिजिटल अधिकारबाट ७२ लाख रुपैयाँ आम्दानी भइसकेको जानकारी उनले दिए। हलको आम्दानीसमेत जोड्दा करिब ३ करोड लगानी उठ्ने निश्चित देखिएको उनको दाबी छ।
माइकल चन्द को निर्देशनमा बनेको यस फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, सुनील थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्मको निर्माण स्वेता विमली र उपेन्द्र शाहीले गरेका हुन्।
निर्माण टिमले फिल्मको सफलतासँगै यसको सिक्वेल निर्माण गर्ने घोषणा समेत गरिसकेको छ।