काठमाडौं । आगामी मनसुनलाई मध्यनजर गर्दै जल तथा मौसम विज्ञान विभाग ले सम्भावित विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्न विस्तृत आपत्कालीन कार्ययोजना सार्वजनिक गरेको छ। विभागले मनसुन अवधिभर मौसम तथा बाढी पूर्वानुमान सेवालाई सुदृढ बनाउँदै २४ सै घण्टा सञ्चालन गर्ने जनाएको छ।
विभागका निमित्त महानिर्देशक अर्चना श्रेष्ठ का अनुसार मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखा निरन्तर सक्रिय रहनेछन्। नियमित रूपमा तीन दिनसम्मको मौसम पूर्वानुमान दैनिक बिहान ८ बजे र साँझ ६ बजे सार्वजनिक गरिनेछ भने विशेष अवस्थाहरूमा तीनदेखि पाँच दिनअगावै चेतावनीसहित विशेष बुलेटिन जारी गरिनेछ।
भारी वर्षा, मेघगर्जन, चट्याङ तथा हिमपातजस्ता जोखिमपूर्ण मौसम अवस्थाबारे जानकारी दिन रङ्ग सूचकसहितको चेतावनी नक्सा पनि प्रकाशन गरिने विभागले जनाएको छ। देशभर जडान गरिएका स्वचालित जल तथा मौसम मापन केन्द्रबाट प्राप्त तथ्याङ्क वास्तविक समयमा विभागको आधिकारिक वेबसाइटमार्फत उपलब्ध गराइनेछ।
बाढी जोखिम न्यूनीकरणका लागि कोशी, गण्डकी, कर्णाली, बागमती, बबई र पश्चिम राप्तीजस्ता प्रमुख नदीहरूमा तीन दिनअगावै बाढी पूर्वानुमान गरिने व्यवस्था मिलाइएको छ। साथै, स-साना नदीमा आउने आकस्मिक बाढीबारे दुईदेखि ६ घण्टा अगावै सूचना दिने तयारी गरिएको छ भने ठूलो बाढीको सम्भावना भएमा पाँच दिनअघि नै सतर्कता जारी गरिनेछ।
पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन नेपाल टेलिकम र एनसेल मार्फत जोखिम क्षेत्रमा रहेका सर्वसाधारण, जनप्रतिनिधि तथा सरोकारवाला निकायलाई निःशुल्क एसएमएस सन्देश पठाइने व्यवस्था गरिएको छ। त्यस्तै, ११५५ नम्बरको टोल–फ्री सेवामार्फत बाढी र मौसमसम्बन्धी जानकारी मनसुन अवधिभर चौबिसै घण्टा उपलब्ध हुनेछ।
विभागले पूर्वसूचना प्रणालीलाई समन्वयात्मक बनाउँदै गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रसँग सहकार्य गर्ने जनाएको छ। विशेष परिस्थितिमा प्रेस विज्ञप्तिमार्फत सर्वसाधारणलाई सचेत गराइने पनि विभागले स्पष्ट पारेको छ।
सरकारको यो तयारीले मनसुनजन्य विपद्बाट हुने क्षति कम गर्न र समयमै नागरिकलाई सचेत गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।