काठमाडौं । सरकारले जन्मदर्ता, विवाह दर्ता लगायतका पञ्जीकरणसम्बन्धी प्रमाणपत्रहरू अब नागरिक एपमार्फत उपलब्ध गराउने तयारी थालेको छ।
सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहका अनुसार राष्ट्रिय पञ्जीकरणका सबै सूचना नागरिक एपमा एकीकृत गर्ने प्रक्रिया सुरु भइसकेको छ। प्रारम्भिक चरणमा रहेको यो काम केही समयभित्रै कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ।
तथ्याङ्क एकीकरणपछि जन्मदर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्ता जस्ता प्रमाणपत्रहरू डिजिटल रूपमा नागरिक एपमै उपलब्ध हुनेछन्। यसले सेवाग्राहीलाई सरकारी कार्यालय धाउनुपर्ने झन्झटबाट राहत दिने अपेक्षा गरिएको छ।
सरकारले डिजिटल सुशासनलाई सुदृढ बनाउने लक्ष्यसहित विभिन्न सार्वजनिक सेवाहरू अनलाइन माध्यमबाट उपलब्ध गराउने अभियानलाई तीव्रता दिइरहेको छ।
यसअन्तर्गत निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) पनि नागरिक एपमार्फत उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको विभागले जनाएको छ। त्यस्तै, नेपाल इन्जिनियरिङ परिषद्सँगको सहकार्यमा व्यावसायिक इन्जिनियर प्रमाणपत्र पनि एपमार्फत उपलब्ध गराउने तयारी भइरहेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्ययोजनाअनुसार ४५ दिनभित्र नयाँ सेवाहरू सञ्चालनमा ल्याउने लक्ष्य राखिएको भए पनि मन्त्री डा। विक्रम तिमिल्सिनाले निर्धारित समयभन्दा अगावै काम सम्पन्न गर्न निर्देशन दिएका छन्।
मन्त्रिपरिषद्बाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’मा समेत यो विषय समावेश गरिएको छ, जसले सरकारी सेवामा पारदर्शिता, सहजता र डिजिटल पहुँच विस्तार गर्ने लक्ष्यलाई थप बल दिएको छ।
हाल नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र डाउनलोड गर्ने सुविधा सञ्चालनमा आइसकेको छ। आगामी दिनमा थप सेवाहरू समावेश भएसँगै नागरिक एपलाई ‘वन-स्टप डिजिटल सेवा प्लेटफर्म’ बनाउने सरकारको लक्ष्य अझ सशक्त हुने विश्वास गरिएको छ।
डिजिटल माध्यमबाट सेवा प्रवाह विस्तार गर्ने यस कदमले सेवाग्राहीको समय र लागत बचत गर्नुका साथै सरकारी सेवालाई थप प्रभावकारी र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।