काठमाडौं । नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड र पब्जी मोबाइलको सहकार्यमा ‘पब्जी मोबाइल नेसनल च्याम्पियनसिप (पीएमएनसी) नेपाल स्प्रिङ २०२६’ आयोजना हुने भएको छ।
इ-स्पोर्टस क्षेत्रलाई थप प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको उक्त प्रतियोगिता आगामी अप्रिल १० देखि भक्तपुरको मध्यपुर थिमीस्थित इन्फिनिटी लाउन्जमा सञ्चालन हुनेछ। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका उत्कृष्ट १६ टोलीबीच प्रतिस्पर्धा हुनेछ। प्रारम्भिक चरणमा करिब १,६०० टोली सहभागी भएका थिए, जसबाट छनोट हुँदै उत्कृष्ट टोलीहरू फाइनल चरणमा पुगेका हुन्।
प्रतियोगिताअन्तर्गत पहिलो दिन ६ र दोस्रो दिन ६ गरी कुल १२ खेल सञ्चालन हुनेछन्। सबै खेलबाट प्राप्त अंकका आधारमा विजेता टोली निर्धारण गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष दुई टोलीले दक्षिण एसियाली स्तरको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। उक्त अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भुटान, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्का लगायतका देशका टोलीहरूको सहभागिता रहनेछ।
आयोजकका अनुसार ‘ल्यान कम्पिटिशन’ मोडेलमा आयोजना हुने यो नेपालकै पहिलो ठूलो पब्जी प्रतियोगिता हो, जहाँ खेलाडीहरू भौतिक उपस्थितिमा उच्चस्तरीय नेटवर्कमार्फत प्रतिस्पर्धा गर्नेछन्। वर्ल्डलिंक र पब्जी मोबाइलबीच सन् २०२३ देखि सहकार्य हुँदै आएको छ। गेमिङ अनुभव सुधार गर्ने उद्देश्यले सुरु भएको यो सहकार्य आगामी तीन वर्षसम्म निरन्तर रहने जनाइएको छ।
वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालका अनुसार नेपालमा इ-स्पोर्टसको सम्भावना तीव्र रूपमा बढ्दै गएको छ र यस्ता प्रतियोगिताले नयाँ प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अघि बढ्न सहयोग गर्नेछन्। आयोजकका अनुसार प्रतियोगिताका फाइनल खेलहरू प्रत्येक दिन दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछन्। खेलहरू स्थलमै उपस्थित भएर वा अनलाइन लाइभ स्ट्रिमिङमार्फत अवलोकन गर्न सकिनेछ।
नेपालमा पब्जी मोबाइल खेल्ने प्रयोगकर्ताको संख्या करिब ३० लाख पुगेको अनुमान गरिएको छ भने उक्त प्रतियोगिता मात्रै करिब १० लाख दर्शकले हेर्ने अपेक्षा गरिएको छ।