काठमाडौं । चालु वर्ष २०८२ मा नेपाली फिल्म उद्योगले उल्लेखनीय व्यापार गरे पनि विदेशी फिल्मले भने अझ बढी कमाइ गर्न सफल भएका छन्। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार विदेशी फिल्मको कमाइ नेपाली फिल्मभन्दा ३ करोड १४ लाख ९ हजार ८३९ रुपैयाँले बढी रहेको छ।
बोर्डका अनुसार चैत १३ गतेसम्म प्रदर्शन भएका ५६ नेपाली फिल्मले कुल १ अर्ब ८ करोड ३८ लाख ५७ हजार ९१० रुपैयाँ बराबरको व्यापार गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा करिब ७० करोड रुपैयाँले कम हो। यस अवधिमा नेपाली फिल्मका ३७ लाख ८१ हजार ५४४ टिकट बिक्री भएका छन्।
यस वर्ष सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म परान बनेको छ, जसले १७ करोड ७६ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ। त्यसपछि आ बाट आमा (१३ करोड १३ लाख) र जेरी अन टप (१२ करोड २८ लाख) क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
यता, ९३ वटा विदेशी फिल्मले नेपाली बजारमा १ अर्ब ११ करोड ५२ लाख ६७ हजार ७४९ रुपैयाँ बराबरको व्यापार गरेका छन्। विदेशी फिल्मका ३३ लाख २२ हजार ७५७ टिकट बिक्री भएको तथ्यांकले देखाएको छ।
बोर्डका अनुसार यस वर्ष २३० वटा फिल्म दर्ता भएका छन् भने ९४ फिल्मले सेन्सर सिफारिस प्राप्त गरेका छन्। साथै, देशभर ८ वटा नयाँ सिनेमा हल सञ्चालनमा आएका छन्, जससँगै कुल हल संख्या १७२ पुगेको छ। यसैगरी, ९ वटा नयाँ वितरण कम्पनी पनि दर्ता भएका छन्।
नेपाली फिल्मले अर्ब पार गरे पनि विदेशी फिल्मको आकर्षण अझै बलियो देखिएको तथ्यांकले संकेत गरेको छ, जसले घरेलु फिल्म उद्योगका लागि चुनौती र अवसर दुवै प्रस्तुत गरेको छ।