काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि दैनिक १०० एमबी निःशुल्क डेटा उपलब्ध गराउने नयाँ अफर सार्वजनिक गरेको छ। यससँगै कम्पनीले साप्ताहिक रूपमा ५० जीबीसम्म डेटा जित्न सकिने आकर्षक योजना पनि ल्याएको छ।
कम्पनीका अनुसार ग्राहक अनुभव अभिवृद्धि गर्ने र डिजिटल प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अफर सञ्चालनमा ल्याइएको हो। यस योजनाअन्तर्गत सबै एनसेल प्रयोगकर्ताले दैनिक रूपमा एनसेल एपको ‘बाई प्याक’ मेनुमा गई १०० एमबी निःशुल्क डेटा सक्रिय गर्न सक्नेछन्।
एनसेल एपमार्फत ग्राहकहरूले रिचार्ज, डेटा तथा भ्वाइस प्याक खरिद, विभिन्न सेवा प्रयोग तथा गेमहरू खेल्न सक्ने सुविधा पाउँछन्। कम्पनीले डिजिटल प्लेटफर्ममार्फत सहज, छिटो र एकीकृत सेवा उपलब्ध गराउँदै ग्राहकलाई डिजिटल जीवनशैलीतर्फ आकर्षित गर्ने लक्ष्य राखेको जनाएको छ।
ग्राहक संलग्नता बढाउन कम्पनीले ‘प्ले एन्ड विन’ अफर पनि सञ्चालनमा ल्याएको छ। यसअन्तर्गत प्रयोगकर्ताले एपभित्रका स्पिन द ह्वील, म्याथ च्यालेन्ज, एनसेल रनर र स्क्र्याच एन्ड विन जस्ता गतिविधिमा सहभागी भई अंक संकलन गर्न सक्छन्। साताभरि संकलित अंकका आधारमा ग्राहकहरूको स्थान निर्धारण गरिन्छ र सोही अनुसार डेटा पुरस्कार वितरण गरिन्छ। कम्पनीका अनुसार प्रत्येक हप्ता कुल ३,४१० जना ग्राहकले डेटा पुरस्कार प्राप्त गर्नेछन्, जसमा शीर्ष १० जनाले जनही ५० जीबी डेटा पाउनेछन्।
त्यस्तै, ११ देखि ६० स्थानसम्मका ग्राहकले १० जीबी, ६१ देखि १६० सम्मका ग्राहकले ५ जीबी, १६१ देखि ४१० सम्मका ग्राहकले १ जीबी, ४११ देखि ९१० सम्मका ग्राहकले ५०० एमबी र ९११ देखि ३,४१० स्थानसम्मका ग्राहकले जनही १०० एमबी डेटा प्राप्त गर्नेछन्।
एनसेलले यस योजनामार्फत डिजिटल समावेशीकरणलाई प्रवर्द्धन गर्दै ग्राहक अनुभवलाई अझ आकर्षक, सहभागितामूलक र सहज बनाउने लक्ष्य लिएको जनाएको छ।