काठमाडौं । बलिउडको बहुप्रतिक्षित फिल्म ‘धुरन्धर २ः द रिभेन्ज’ ले रिलिजसँगै बक्स अफिसमा अभूतपूर्व सफलता हासिल गर्दै नयाँ इतिहास रचेको छ। पेड प्रिभ्युबाट सुरु भएको फिल्मको आम्दानी केही दिनमै तीव्र गतिमा बढ्दै गएको छ भने अधिकांश सिनेमा हलहरू हाउसफुल भइरहेका छन्।
दर्शकहरूको उच्च उत्साहका कारण भारतभरि २४ घण्टा शो सञ्चालन गर्दा पनि टिकट अभाव हुने अवस्था सिर्जना भएको छ। बिहानदेखि रातिसम्मका शोहरू भरिभराउ हुँदा फिल्मको लोकप्रियता झन् स्पष्ट देखिएको छ। फिल्मले आफ्नो प्रारम्भिक प्रदर्शनमै ठूला रेकर्डहरू तोड्दै सबैभन्दा छिटो ३०० करोड र ४०० करोड क्लबमा प्रवेश गरेको छ। पेड प्रिभ्यु सहित पाँच दिनमै फिल्मले कुल ४४३ करोड भारतीय रुपैयाँ आम्दानी गर्दै नयाँ कीर्तिमान कायम गरेको छ।
दैनिक कलेक्सनअनुसार बिहीबार १४० करोड, शुक्रबार ८१ करोड, शनिबार १०९ करोड र आइतबार ११३ करोड रुपैयाँ आम्दानी भएको छ। फिल्मको आम्दानीको गति अझै जारी रहने र आगामी दिनहरूमा थप रेकर्डहरू तोड्ने अनुमान गरिएको छ।
फिल्मको सफलता केवल आम्दानीमा मात्र सीमित छैन। निर्देशक आदित्य धरको निर्देशनमा तयार भएको फिल्मले यथार्थपरक सेट डिजाइनका कारण अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा बटुलेको छ। विशेष गरी पाकिस्तानको कराँचीस्थित ल्यारी क्षेत्रको सेट यति वास्तविक देखाइएको छ कि धेरै दर्शकले छायांकन पाकिस्तानमै भएको ठानेका छन्।
तर फिल्मका कुनै पनि दृश्य पाकिस्तानमा खिचिएका छैनन्। ल्यारी क्षेत्रको विशाल सेट थाइल्याण्डको बैंककमा निर्माण गरिएको हो, जहाँ वास्तविक परिवेश झल्काउने गरी गल्ली, बजार र वातावरण तयार पारिएको थियो।
फिल्मको छायांकन भारतका विभिन्न स्थानहरू-मुम्बई, अमृतसर, चण्डीगढ, लुधियाना तथा लेह-लद्दाख-मा गरिएको छ। क्लाइमेक्स दृश्यमा देखिएको यथार्थपरक वातावरणले दर्शकलाई थप आकर्षित गरेको छ। रोचक कुरा के छ भने, फिल्म पाकिस्तानमा समेत चर्चामा रहेको छ। त्यहाँका दर्शकहरूले समेत यसको सेट डिजाइन र प्रस्तुतीकरणको खुलेर प्रशंसा गरेका छन्।
समीक्षकहरूका अनुसार ‘धुरन्धर २ः द रिभेन्ज’ केवल एक सफल फिल्म मात्र नभई भारतीय फिल्म उद्योगकै एक ऐतिहासिक ब्लकबस्टर बन्ने दिशामा अघि बढिरहेको छ।