काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरण ले मौसम बदलीसँगै देशका विभिन्न भागमा आगामी तीन दिन तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
प्राधिकरणले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार शुक्रबारदेखि मौसम थप सक्रिय हुने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
त्यस्तै, लुम्बिनी प्रदेशका दाङ, नेपालगञ्ज आसपासका तराई क्षेत्र तथा पूर्वी क्षेत्रका विराटनगर, धरान र धनकुटा आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने प्रक्षेपण गरिएको छ। हावाको गति झन्डै ११९ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने प्राधिकरणले जनाएको छ।
प्रि-मनसुनको समय भएकाले हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने, साथै विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको प्राधिकरणको भनाइ छ। पछिल्ला दिनहरूमा हावाहुरीका कारण मानवीय क्षति समेत भएको उल्लेख गर्दै जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्राधिकरणले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, हावाहुरीका बेला घरभित्र सुरक्षित बस्न, झ्यालढोका मजबुत रूपमा बन्द गर्न तथा सवारीसाधन चलाइरहेका बेला सुरक्षित स्थानमा रोकिन सुझाव दिएको छ। साथै, अग्ला रुख, बिजुलीका खम्बा तथा तारमुनि नबस्न र विद्युतीय उपकरण प्रयोग नगर्न समेत आग्रह गरिएको छ।