काठमाडौं । मध्यपूर्वमा विकसित भइरहेका पछिल्ला घटनाक्रमका बीच नेपाल सरकारले इजरायल र इरानको यात्रा नगर्न नेपाली नागरिकलाई अपील गरेको छ। नेपाल सरकार अन्तर्गतको परराष्ट्र मन्त्रालय ले शुक्रबार ट्राभल एडभाइजरी जारी गर्दै हालको अवस्था सामान्य नभएसम्म दुवै देशको यात्रा स्थगित गर्न आग्रह गरेको हो।
मन्त्रालयले इजरायल वा इरान भ्रमण गर्ने योजना बनाइरहेका नेपाली नागरिकलाई सुरक्षा अवस्थालाई ध्यानमा राख्दै तत्काल यात्रा नगर्न अनुरोध गरेको छ। साथै, हाल ती देशमा बसोबास तथा कार्यरत नेपालीलाई आवश्यक सतर्कता अपनाउन, भीडभाडयुक्त स्थानबाट टाढा रहन र आधिकारिक सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरिएको छ।
विज्ञप्तिमा सम्बन्धित देशका सरकारी निकायहरूले जारी गरेका सुरक्षा सल्लाह र निर्देशन कडाइका साथ पालना गर्न भनिएको छ। “सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस् र आफू बसोबास गरिरहेको स्थानमा नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस्,” विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, सम्बन्धित देशका आधिकारिक निकायबाट पूर्वअनुमति नलिई अनावश्यक यात्रा नगर्न पनि मन्त्रालयले अनुरोध गरेको छ। आपतकालीन अवस्थाका लागि काठमाडौंस्थित परराष्ट्र मन्त्रालय, तेल अभिवस्थित नेपाली राजदूतावास तथा दोहास्थित नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहन आग्रह गरिएको छ।
यसैबीच अन्य मध्यपूर्वी देशहरूमा बसोबास तथा कार्यरत नेपाली नागरिकलाई पनि सम्बन्धित देशका निकायहरूले जारी गरेका सुरक्षा सुझावहरू पालना गर्दै पछिल्ला घटनाक्रमबारे नियमित जानकारी लिन विशेष अपील गरिएको छ।
मध्यपूर्वमा बढ्दो अस्थिरताका कारण नेपाली समुदायको सुरक्षालाई प्राथमिकतामा राख्दै सरकारले अवस्थाको निरन्तर अनुगमन गरिरहेको जनाएको छ।