काठमाडौं । यस वर्ष नेपाली फिल्मबीच एकअर्काको व्यापारलाई उछिन्ने रोचक प्रतिस्पर्धा चलिरहेको छ । गत कात्तिकमा ‘ऊनको स्वीटर’को व्यापारलाई उछिन्दै ‘जेरी अन टप’ यस वर्षको सर्वाधिक कमाउने फिल्म बनेको थियो । तर, त्यसको एक महिनामै ‘परान’ले ‘जेरी अन टप’लाई उछिन्यो । यतिबेला भने यी तीन फिल्मको व्यापारलाई ‘आ बाट आमा’ले चुनौती दिइरहेको छ ।
यसैक्रममा सोमबार यो फिल्मले एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । यसले ‘ऊनको स्वीटर’लाई पछि पार्दै यस वर्ष धेरै कमाउने तेस्रो फिल्मको रूपमा आफ्नो नाम लेखाएको छ । यो फिल्मले सिनेपाः बक्स अफिसमा सोमबार दिउँसो ३ बजेसम्म ११ करोड ४३ लाखभन्दा बढीको व्यापार गरेको देखिन्छ । ‘ऊनको स्वीटर’को व्यापार ११ करोड ४१ लाख रुपैयाँ ग्रस थियो ।
अब ‘आ बाट आमा’ यस वर्षको दोस्रो धेरै कमाउने फिल्म बन्ने लक्ष्यमा देखिन्छ । त्यसका लागि यो फिल्मले ‘जेरी अन टप’को कुल व्यापारलाई उछिन्नुपर्छ । यसले १२ करोड २६ लाख ६ हजार रुपैयाँ ग्रस कमाइ गरेको थियो । चौथो सातामा पनि फिल्मको दैनिक व्यापार १० लाखमाथि रहेकाले प्रतिनिधि सभाको निर्वाचनभन्दा अघि नै ‘जेरी अन टप’को रेकर्ड तोडिने प्रवल सम्भावना देखिन्छ ।
यस वर्षको सर्वाधिक कमाउने फिल्मको कीर्तिमान भने ‘परान’को नाममा छ । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांक अनुसार यो फिल्मले १७ करोड ७७ लाख रुपैयाँ ग्रस कमाएको छ । यसको व्यापारलाई पनि ‘आ बाट आमा’ले उछिनेको खण्डमा यो नेपाली फिल्मको इतिहासमै सर्वाधिक कमाइ गर्ने चौथो र यस वर्ष धेरै कमाउने पहिलो फिल्म बन्नेछ ।
चन्द्र पन्तको निर्देशनमा बनेको यस फिल्ममा विपना थापा, प्रदीप रावत ९गजनी भिलेन०, पल शाह, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, रचना गौतम लगायतको अभिनय रहेको छ । आइतबार मात्र यो फिल्मको सिक्वेल निर्माणको घोषणा गरिएको छ । पल स्वयंको मुख्य भूमिका रहने ‘आ बाट आमा २’लाई आउँदो वर्षको दशैंमा प्रदर्शन गरिनेछ ।