काठमाडौँ । सरकारले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्ध किशोरी लक्षित ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप अभियान सुरु गरेको छ। अभियानअन्तर्गत कक्षा ६ मा अध्ययनरत किशोरी तथा विद्यालयबाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइँदैछ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार यो अभियान आजदेखि फागुन १५ गतेसम्म सञ्चालन हुनेछ। गत वर्षको खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरी तथा ११ देखि १४ वर्ष उमेरका विद्यालयबाहिर रहेका किशोरीलाई पनि यसै अभियानअन्तर्गत खोप प्रदान गरिनेछ। हिमाली तथा हिमपात हुने जिल्लामा भने खोप अभियान चैत महिनामा सञ्चालन गरिने जनाइएको छ।
पाठेघरको मुखको क्यान्सरको मुख्य कारण एचपीभी भाइरस सङ्क्रमण भएकाले यसविरुद्धको खोप प्रभावकारी उपाय मानिन्छ। कक्षा ६ का किशोरीलाई विद्यालयमै खोप लगाइनेछ भने अन्य किशोरीलाई नजिकको खोप केन्द्रमार्फत सेवा उपलब्ध गराइनेछ।
अभियान प्रमुख डा. अभियान गौतमले एचपीभी खोप शतप्रतिशत प्रभावकारी रहेको उल्लेख गर्दै सबै अभिभावक तथा सरोकारवालालाई खोप लगाउन आग्रह गरेका छन्। “नेपालमा हरेक दिन औसतमा छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिन्छ, जसमा चार जनाको मृत्यु हुने गरेको छ। तर यो क्यान्सर एचपीभी खोपमार्फत रोकथाम गर्न सकिन्छ,” उनले भने।
गत वर्ष सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गरेको अभियानमा कक्षा ६ देखि १० सम्मका तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप लगाइएको थियो। यस वर्षको २० दिने अभियानमा करिब तीन लाख ५० हजार किशोरीलाई एचपीभी खोप लगाउने लक्ष्य राखिएको शाखाले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहे पनि क्यान्सरका कारण महिलाको मृत्यु हुनेमा यो क्यान्सर पहिलो स्थानमा रहेको छ। त्यसैले अभियानलाई सफल बनाउन सरकार, विद्यालय, अभिभावक र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।