काठमाडौँ । पछिल्लो ६ महिनामा झन्डै ६ लाख नेपाली युवा रोजगारीको खोजीमा विदेशिएका छन्। देश आमचुनावतर्फ उन्मुख भइरहँदा पनि वैदेशिक रोजगारीप्रतिको आकर्षण झन् बढ्दै गएको देखिएको छ।
वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्म ५ लाख ९० हजार ७ सय १८ जनाले श्रम स्वीकृति लिएर विदेश प्रस्थान गरेका छन्। यसमध्ये १ लाख ९६ हजार ४२ जनाले पुनः श्रम स्वीकृति लिएका हुन्। पुनः श्रम स्वीकृति लिनेहरूमध्ये ४ हजार ८ सय ६६ जना ‘जीटुजी’ (सरकार-सरकार) प्रक्रियामार्फत इजरायल, दक्षिण कोरिया र बेलायत गएका छन्।
विभागको तथ्याङ्कअनुसार ६४ हजार २ सय ६२ जना व्यक्तिगत श्रम स्वीकृतिमार्फत तथा ३ लाख २५ हजार ४ सय ७ जना म्यानपावर कम्पनीमार्फत विदेशिएका छन्। चाडपर्वपछि विदेश जाने क्रम बढ्ने गरेको र नयाँ वर्षसँगै निर्माण तथा सेवा क्षेत्रमा माग बढ्दा यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। खाडी मुलुक र मलेशिया अझै पनि अदक्ष तथा अर्धदक्ष श्रमिकका प्रमुख गन्तव्य हुन् भने पछिल्ला वर्षहरूमा जापान, दक्षिण कोरिया र युरोपेली देशहरूमा सीपयुक्त तथा भाषा जान्ने श्रमिकको माग बढ्दै गएको छ।
वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढेसँगै ठगीका घटना पनि बढिरहेका छन्। विभागले सार्वजनिक गरेको अर्धवार्षिक प्रगति विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारसम्बन्धी ५ हजार ७ सय ६६ वटा उजुरी दर्ता भएका छन्।
दर्ता उजुरीमध्ये उद्धार, राहत तथा समन्वय शाखामा ५ सय ६८, प्रहरी शाखामा २ हजार ६ सय ३७ र मुद्दा अनुसन्धान शाखामा २ हजार ५ सय ६१ वटा उजुरी परेका छन्। कुल उजुरीमध्ये ९० दशमलव १५ प्रतिशत व्यक्तिगत ठगीसम्बन्धी छन् भने ९ दशमलव ८५ प्रतिशत म्यानपावर कम्पनीसँग सम्बन्धित छन्।
गत आर्थिक वर्ष २०८१/८२ मा झन्डै ५ हजार उजुरी दर्ता भएकामा यस वर्षको ६ महिनामै त्यो सङ्ख्या नाघिसकेको छ। वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढ्नु, युरोप जाने प्रलोभन, तथा सामाजिक सञ्जालमा देखिने अनधिकृत विज्ञापनका कारण ठगीका घटना बढ्दै गएको विभागका अधिकारीहरू बताउँछन्।